
विराटनगर । विराटनगरस्थित भानु कलेजले आयोजना गरेको कविता तथा वक्तृत्वकला प्रतियोगितामा स्वस्तिका नेपाल र समा खातुन प्रथम भएका छन् ।
कलेज परिसरमा आइतबार आयोजित कविता प्रतियोगितामा स्वस्तिका नेपालले दुई दर्जनभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गरिन् । प्रतियोगितामा सादवीकुमार ठाकुर द्वितीय, निशा प्रसाईं तृतीय तथा अफ्रिन खातुन सान्त्वना पुरस्कारका लागि छनोट भए ।
कविता प्रतियोगिताको मूल्यांकन कवि तथा पत्रकार मीनकुमार नवोदित र महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक नरेश पौडेल सम्मिलित निर्णायक समितिले गरेको थियो ।
यसैगरी, ‘युवाहरूको विदेश मोह र यसले नेपालको समृद्धिमा पारेको प्रभाव’ विषयमा आयोजित वक्तृत्वकला प्रतियोगितामा समा खातुनले प्रथम स्थान प्राप्त गरिन् । प्रतियोगितामा नेशन अपूर्ण खनाल द्वितीय, आस्मा खातुन तृतीय तथा शिवचरण चौधरीले सान्त्वना पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई निर्णायकद्वय मीनकुमार नवोदित र नरेश पौडेलसँगै कलेजका प्राचार्य वसन्त बस्नेत तथा निर्देशक देवेश प्रधानलगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन् ।
विद्यार्थीको शैक्षिक विकाससँगै उनीहरूको सिर्जनात्मक क्षमता र प्रस्तुति कौशल अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्राचार्य बस्नेतले बताए । कलेजले नियमित रूपमा कविता, वक्तृत्वकला, चित्रकला, वादविवाद तथा खेलकुदलगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको जानकारी उनले दिए ।

























