
धनकुटा । आफ्नो पुर्ख्यौली थलोमा रहेको विद्यालयसँग पुर्खाको नाम जोड्दै नोबेल मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिलकुमार शर्माले विपन्न तथा जेहेन्दार विद्यार्थीको उच्च शिक्षाका लागि छात्रवृत्ति दिने भएका छन् ।
पाख्रीबास नगरपालिका–१० चुङमाङस्थित भारती माध्यमिक विद्यालयको नाम परिवर्तनका लागि शर्माले विद्यालयलाई ३ करोड रुपैयाँ सहयोग गरेका छन् । अब विद्यालयको नाम ‘श्री भारती गणपति गुणलाल न्यौपाने माध्यमिक विद्यालय’ कायम गर्ने सहमति भएको प्रधानाध्यापक हरिप्रसाद पौडेलले जानकारी दिए ।
त्यसैगरी, आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि २ करोड रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने सम्झौता भएको छ । छात्रवृत्ति काठमाडौं मेडिकल कलेजमार्फत सञ्चालन हुनेछ ।
सम्झौताअनुसार कक्षा ६ देखि सोही विद्यालयमा निरन्तर अध्ययन गरी कम्तीमा पाँच वर्ष पूरा गरेका र एसईई उत्तीर्ण विपन्न तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति पाउनेछन् । त्यसका लागि विद्यार्थीले चिकित्सा शिक्षा आयोगको एकीकृत राष्ट्रिय परीक्षा उत्तीर्ण गरी मेरिटका आधारमा काठमाडौं मेडिकल कलेजमा अध्ययनका लागि छनोट हुनुपर्नेछ। विद्यार्थीको सिफारिस विद्यालयले गर्नेछ ।
छात्रवृत्तिअन्तर्गत काठमाडौं मेडिकल कलेजमा अध्यापन हुने डीएम, एमसीए, एमडी, एमएस, एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएनएस र बीपीटीलगायत कार्यक्रम अध्ययनका लागि निःशुल्क व्यवस्था गरिने डा. शर्माले बताए ।
विद्यालयको नाम पुर्खाको नाममा परिवर्तन गर्नु मात्र आफ्नो उद्देश्य नभएको शर्माले बताए । पुर्खाबाट प्राप्त संस्कार, मूल्य र जिम्मेवारीलाई आगामी पुस्ताका लागि अवसरमा रूपान्तरण गर्ने उद्देश्यले सहयोग गरिएको उनको भनाइ छ ।
सहयोग रकम हस्तान्तरण तथा छात्रवृत्ति सञ्चालनसम्बन्धी सम्झौताका लागि डा. शर्मा आफ्ना बाबु लोकनाथ न्यौपाने र आमासहित पुर्ख्यौली गाउँ चुङमाङ पुगेका थिए । सम्झौतामा डा. शर्मा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं वडाध्यक्ष हरि खत्री तथा पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङलगायतले हस्ताक्षर गरेका छन् ।

























