विपद्पछिको पुनर्निर्माणमा नेपालले खोज्यो ईयूको थप साथ

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार ०७:०४

काठमाडौं । नेपालले जलवायु परिवर्तनका कारण उत्पन्न विपद्बाट प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनर्निर्माणका लागि युरोपेली संघ (ईयू)सँगको सहकार्य थप विस्तार गर्ने भएको छ ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्यूयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र ईयूकी कार्यकारी उपाध्यक्ष टेरेसा रिबेराबीच भएको भेटवार्तामा नेपाल–ईयू सम्बन्धका विभिन्न पक्षसँगै विपद् प्रभावित क्षेत्रको पुनरुत्थानका बारेमा छलफल भएको हो । त्यस क्रममा नेपालले विपद्पछिको पुनर्निर्माणमा ईयूको थप साथ खोजेको छ ।

Advertisement

भेटमा मन्त्री खनालले भोटेकोशी बाढीपछि नेपालले सामना गरिरहेको कठिन परिस्थितिप्रति ईयूले व्यक्त गरेको संवेदना र ऐक्यबद्धताका लागि रिबेराप्रति आभार व्यक्त गरेका थिए । वार्ताका क्रममा नेपाल र ईयूबीचको साझेदारीलाई थप सुदृढ बनाउने विषयमा दुवै पक्षले विचार आदानप्रदान गरेका थिए ।

विशेषगरी जलवायु परिवर्तनबाट प्रभावित क्षेत्रको पुनरुत्थान, पुनःस्थापना र पुनर्निर्माणमा सहकार्य बढाउने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो । मन्त्री खनालको सचिवालयका अनुसार भेटमा नेपाल–ईयू साझेदारीका विविध आयाममा सहकार्यलाई अझ गहिरो बनाउने प्रतिबद्धता दुवै पक्षले दोहोर्‍याएका छन् ।

नेपालले पछिल्लो समय जलवायुजन्य विपद्का कारण विभिन्न क्षेत्रमा ठूलो क्षति व्यहोर्दै आएको अवस्थामा पुनर्निर्माण र प्रभावित समुदायको पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई अघि बढाउने प्रयासका रूपमा भेटवार्तालाई हेरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×