
झापा । झापामा भदौ महिनामा २५ वटा विपद्का घटना हुँदा १९ लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार विपद्का घटनामा मानवीय क्षति नभए पनि एक जना घाइते भएका छन्। घटनाबाट प्रभावित ६९ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ।
भदौमा बाढी र पहिरोका घटना नभए पनि जङ्गली जनावरको आक्रमण प्रमुख विपद्का रूपमा देखिएको छ। २५ घटनामध्ये १७ वटा जङ्गली जनावरको आक्रमणका छन्। ती घटनामा एक जना घाइते भएका छन् भने ५५ जनाको उद्धार गरिएको छ। जनावरको आक्रमणबाट रु ६ लाख ३५ हजार बराबरको भौतिक क्षति भएको प्रहरीको तथ्यांक छ।
यस्तै, जिल्लाका विभिन्न स्थानमा सात वटा आगलागीका घटना हुँदा रु १२ लाख १० हजार बराबरको क्षति भएको छ। चट्याङका कारण रु एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
प्रनाउ अवाले विपद्का समयमा तत्काल उद्धार तथा राहतका लागि प्रहरी टोलीलाई चौबीसै घण्टा उच्च सतर्क अवस्थामा राखिएको बताए।

























