
काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री शिशिर खनालको कूटनीतिक दौडधुप बढेको छ । उनले माल्दिभ्स र स्लोभाक गणतन्त्रका समकक्षीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका छन् ।
माल्दिभ्सका विदेशमन्त्री इरुथिस आदमसँग भएको भेटमा नेपाल–माल्दिभ्स सम्बन्ध, क्षेत्रीय तथा बहुपक्षीय विषयका साथै दुई देशबीचको सहकार्य विस्तारका विषयमा छलफल भएको छ । भेटका क्रममा मन्त्री खनालले नेपालमा हालै आएको बाढीपछि माल्दिभ्स सरकार र जनताले व्यक्त गरेको समवेदना, ऐक्यबद्धता तथा उपलब्ध गराएको मानवीय सहयोगप्रति आभार व्यक्त गरेका थिए ।
दुई मन्त्रीबीच उच्चस्तरीय भ्रमण आदानप्रदान गर्दै पर्यटन, रोजगारी र शिक्षालगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान भएको खनालको सचिवालयले जनाएको छ । त्यसैगरी, जलवायु परिवर्तन, विकासका लागि वित्तीय स्रोत परिचालन र दिगो विकासलगायत आपसी हित तथा चासोका विषयमा नेपाल र माल्दिभ्सबीच सहकार्य थप मजबुत बनाउने विषयमा पनि छलफल भएको थियो ।
संयुक्त राष्ट्रसंघ र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लगायतका बहुपक्षीय मञ्चमा साझा हितका विषयमा सहकार्य र समन्वयलाई निरन्तरता दिनेमा दुवै पक्ष सहमत भएका छन् । माल्दिभ्सका विदेशमन्त्री आदमसँगको भेटमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापासहित भ्रमण दलका सदस्यको पनि सहभागिता थियो ।
यसैबीच, परराष्ट्रमन्त्री खनालले स्लोभाक गणतन्त्रका विदेश तथा युरोपेली मामिलामन्त्री जुराज ब्लानरसँग पनि ‘साइडलाइन’ भेटवार्ता गरेका छन् । उक्त भेटमा नेपाल र स्लोभाक गणतन्त्रबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
दुवै पक्षले नेपाल र स्लोभाक गणतन्त्रबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए । महासभामा सहभागी हुने क्रममा मन्त्री खनालले विभिन्न मुलुकका समकक्षीसँग निरन्तर द्विपक्षीय भेटवार्ता गर्दै नेपालका प्राथमिकता, द्विपक्षीय सम्बन्ध तथा समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल गरिरहेका छन् ।

























