
विराटनगर । भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले असोज ८ र ९ गते अर्थात् बिहीबार र शुक्रबार महानगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
जल तथा मौसम विज्ञान विभागबाट प्राप्त मौसम पूर्वानुमानअनुसार बिहीबारदेखि असोज ११ गतेसम्म नेपालभर भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै महानगरपालिकाले विद्यालय बन्द गर्न निर्देशन दिएको हो । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले वर्षाका कारण स्थानीय खोलानाला तथा नदीमा पानीको बहाव बढ्न सक्ने, सडक तथा बस्ती डुबानमा पर्न सक्ने र बाटोघाटो अवरुद्ध हुनसक्ने भएकाले विद्यार्थी तथा आम नागरिकको सुरक्षालाई ध्यानमा राखी दुई दिन पठनपाठन बन्द गर्न सबै विद्यालयलाई अनुरोध गरेको छ ।
महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले सूचना जारी गर्दै सुरक्षित विद्यालय भवनलाई आवश्यकताअनुसार विपद प्रभावित नागरिकका लागि अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्नसमेत भनिएको छ । त्यसका लागि विद्यालयहरूलाई महानगरपालिकाको प्रशासनसँग आवश्यक समन्वय र सम्पर्कमा रहन पनि आग्रह गरिएको छ ।
महानगरपालिकाले सम्भावित विपदका कारण हुनसक्ने जोखिम न्यूनीकरण तथा विद्यार्थीको सुरक्षाका लागि विद्यालय बन्द गर्ने व्यवस्था मिलाएको जनाएको छ । महानगरले दुई बिदा दिने निर्णय गरेसँगै विराटनगरका विद्यालयहरु लगातार चार दिन बन्द हुने भएका छन् । शनिबार र आइतबार नियमित नियमित सार्वजनिक बिदा पर्छ ।
यद्यपि, महानगरले ढिलो गरेर सूचना जारी गरेका कारण केही विद्यालयहरुलाई पठनपाठन सुचारु गर्ने कि बन्द गर्ने भन्ने अलमल भएको थियो । समयमै सूचना जारी नहुँदा अधिकांश विद्यार्थीहरु विद्यालय पुगेका थिए । विद्यालय पुगेका विद्यार्थीहरु पठनपाठन बन्द हुने भएपछि त्यत्तिकै फर्किएका छन् ।


























