पहिरोले बीपी राजमार्ग अवरुद्ध

Share this
814shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज ९, शुक्रबार ०९:२६

काठमाडौ। अविरल वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्ग अवरुद्ध भएको छ। शुक्रबार बिहान ४:३० बजे बीपी राजमार्गअन्तर्गत काभ्रेकाे रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैबीच, जल तथा मौसम विभागको प्रक्षेपणलाई मध्यनजर गर्दै बिहीबारदेखि रातको समयमा बीपी राजमार्गअन्तर्गत काभ्रेपला ञ्चोक सडकखण्डलाई बन्द गराइएको छ। जिल्ला प्रशासन कार्यालयले बाढीपहिरोको अवस्था हेरी दिउँसो पनि बन्द गर्न सक्ने जनाएको छ भने हाललाई आइतबारसम्म रातको समयमा सवारी आवागमनमा रोक लगाएको हो।

कार्यालयको बैठकको निर्णयअनुसार बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा ८ देखि १२ असोज बिहानसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइने भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।

वर्षा तथा बाढीपहिरोको अवस्था मूल्यांकन गरी दिउँसोसमेत सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालयले आवश्यक निर्णय लिने जनाएको छ। उक्त निर्णय कार्यान्वयनमा सहजीकरण गर्न छिमेकी जिल्ला सिन्धुली र भक्तपुरका प्रहरी युनिटलाई अनुरोध गर्ने निर्णय भएको छ।

बैठकले नदी किनार तथा पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई सम्भावित बाढी तथा पहिरोको जोखिमबारे सचेत गराउने, जोखिमसम्बन्धी सूचना निरन्तर प्रवाह गर्ने तथा स्थानीय सञ्चारमाध्यममार्फत सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.