शिक्षकहरूका लागि एआई तालिम सञ्चालन

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ९, शुक्रबार १७:५३
शिक्षकहरूका लागि एआई तालिम सञ्चालन

विराटनगर । विराटनगर–५ स्थित एभरेस्ट सेकेन्डरी स्कुलले आफ्ना शिक्षक तथा कर्मचारीहरूका लागि कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी विशेष तालिम सञ्चालन गरेको छ ।  समयानुकूल प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाइलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले विद्यालयले यो तालिम आयोजना गरेको हो ।

तालिममा प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्यापन गराउने १५० जना शिक्षक शिक्षिका तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । ‘माई सेकेन्ड टिचर’ का कम्प्युटर विज्ञान विज्ञ प्रतीक प्रधान नेतृत्वको १३ जनाको टोलीले प्रशिक्षणको सहजीकरण गरेको थियो ।

Advertisement

विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले युगसापेक्ष प्रविधिको अधिकतम प्रयोग गर्दै शिक्षण सिकाइलाई चुस्त बनाउन तालिम आयोजना गरिएको बताए । ‘पाठ्यक्रमको लेसन प्लान (पाठ योजना) तयार गर्नेदेखि कक्षाकोठामा त्यसको प्रभावकारी कार्यान्वयनसम्म एआई टुल्सको प्रयोग निकै उपयोगी हुने विश्वास लिएका छौँ,’ उनले भने ।

तालिममा सहभागी शिक्षिका सुस्मिता कोइरालाले यसअघि पनि केही टुल्स प्रयोग गर्दै आएको भए पनि तालिमबाट नयाँ प्रविधि र तिनको व्यावहारिक प्रयोगबारे सिक्न पाएको बताइन् । एआईको प्रयोगले पाठ्यक्रमका विषयवस्तुलाई परियोजना र शैक्षिक सामग्रीका रूपमा तयार पारी विद्यार्थीलाई बुझाउन सहज हुने उनको भनाइ छ । अर्की शिक्षिका एलिसा अधिकारीले दैनिक अध्यापनलाई अझ प्रभावकारी र सहज बनाउन तालिमले ठूलो सहयोग पुर्‍याएको उल्लेख गरिन् ।

कम्प्युटर शिक्षाका विभिन्न कोर्स सञ्चालन गर्दै आएको एभरेष्टले कक्षा ३ देखि नै बेलायतको डिजी स्कुलको ‘एनसीसी’ कोर्स अध्यापन गराउँदै आएको छ । सूचना प्रविधिलाई प्राथमिकता दिँदै विद्यालयले यसै शैक्षिक सत्रदेखि काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) को पठनपाठनसमेत सुरु गरिसकेको छ ।

हरेक कक्षाकोठामा इन्टरनेट र प्रोजेक्टरको व्यवस्था गरी ल्यापटपमार्फत अध्यापन गराउँदै आएको विद्यालयले आगामी शैक्षिक सत्रदेखि थप प्रविधि विस्तार गर्ने योजना बनाएको छ । प्रिन्सिपल टीकाराम पुरीका अनुसार आगामी शैक्षिक सत्रदेखि प्रत्येक कक्षाकोठामा स्मार्ट बोर्ड जडान गरिने छ । प्रविधिको तीव्र विकाससँगै शिक्षण पद्धतिलाई निरन्तर प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता उनले व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×