झापामा बालबालिकालाई स्वर्ण विन्दु प्राशन कार्यक्रम सुरु

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार १९:४१
झापामा बालबालिकालाई स्वर्ण विन्दु प्राशन कार्यक्रम सुरु

झापा ।  बालबालिकाको शारीरिक तथा मानसिक विकाससँगै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले झापामा स्वर्ण विन्दु प्राशन कार्यक्रम सुरु गरिएको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाले सोमबार (आज) देखि प्रत्येक महिना बालबालिकालाई स्वर्ण विन्दु प्राशन गराउने कार्यक्रम सञ्चालनमा ल्याएको हो । कार्यक्रमको शुभारम्भ जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले गरेका हुन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका प्रमुख डा. विजय श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बालबालिकालाई स्वर्ण विन्दु प्राशन गराइएको थियो । केन्द्रका अनुसार पहिलो चरणको कार्यक्रमबाट ५०० भन्दा बढी बालबालिका लाभान्वित हुने अपेक्षा गरिएको छ ।

स्वर्ण विन्दु प्राशनका लागि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई लक्षित गरिएको छ । कार्यक्रमअन्तर्गत बालबालिकाको स्वास्थ्य अवस्था, उमेर तथा आवश्यक विवरण अभिलेख राखेर स्वर्ण विन्दु प्राशन गराउने व्यवस्था गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका वरिष्ठ वैद्य खगेन्द्र भट्टराईले जानकारी दिए ।

आयुर्वेदमा स्वर्ण विन्दुलाई बाल स्वास्थ्य प्रवर्द्धनसँग जोडिएको महत्त्वपूर्ण उपचार पद्धतिका रूपमा उल्लेख गरिएको छ । तोकिएको मात्रामा स्वर्ण भस्म, मह र ब्राह्मी घृतलाई विधिपूर्वक मिसाएर तयार गरिएको अर्धतरल मिश्रणलाई स्वर्ण विन्दु भनिन्छ।

आयुर्वेदको बाल रोगसम्बन्धी मूल ग्रन्थ काश्यप संहिताको लेह अध्यायमा समेत स्वर्ण विन्दु प्राशनको वर्णन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार स्वर्ण विन्दु प्राशनले बालबालिकाको पोषणमा सहयोग गर्नुका साथै पाचन प्रणाली सुदृढ बनाउन, स्मरण शक्ति तथा बौद्धिक क्षमताको विकास गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने मान्यता छ। यसबाट बालबालिकाको शारीरिक तथा मानसिक विकासमा समेत सहयोग पुग्ने बताइएको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले ज्वरो, अजीर्ण, झाडापखाला, आउँ, रुघाखोकी तथा आकस्मिक स्वास्थ्य अवस्था भएका बालबालिकालाई स्वर्ण विन्दु प्राशन नगराउन आग्रह गरेको छ ।

स्वर्ण विन्दु प्राशन गराएपछि कम्तीमा आधा घण्टासम्म बालबालिकालाई केही पनि खान नदिनसमेत केन्द्रले सुझाव दिएको छ । कुनै असहजता वा दुष्प्रभाव देखिएमा तत्काल चिकित्सकसँग परामर्श लिन आग्रह गरिएको छ । केन्द्रले स्वर्ण विन्दु प्राशनलाई बालबालिकाको नियमित खोपको विकल्पका रूपमा नलिनसमेत स्पष्ट पारेको छ । बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमअनुसार नियमित खोप लगाउन छुटाउन नहुने उसको भनाइ छ ।

स्वर्ण विन्दुसँगै बालबालिकालाई सन्तुलित आहार खुवाउने, मोबाइल तथा टेलिभिजनमा लामो समय बिताउने बानीबाट टाढा राख्ने र खेलकुद तथा शारीरिक गतिविधिमा सक्रिय बनाउनेतर्फ अभिभावकले ध्यान दिनुपर्ने स्वास्थ्य केन्द्रले जनाएको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरमा सञ्चालन हुने कार्यक्रममा बालबालिकालाई नियमित रूपमा सहभागी गराउने लक्ष्य राखिएको छ। स्वास्थ्य केन्द्रका अनुसार कार्यक्रमको उद्देश्य औषधि सेवनमा मात्र सीमित नराखी बालबालिकाको समग्र स्वास्थ्य र स्वस्थ जीवनशैलीप्रति अभिभावकलाई सचेत गराउनु पनि हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×