
सुर्खेत । नेपालगञ्जस्थित एक निजी अस्पतालमा सुत्केरीको मृत्यु भएपछि परिवार र आफन्तले आन्दोलन गरेका छन्। बर्दियाको बढैयाताल गाउँपालिका–७ की २० वर्षीया पवित्रा केसीको सञ्जिवनी कलेज अफ मेडिकलमा उपचारका क्रममा मृत्यु भएको हो । कात्तिक २६ गते अस्पताल भर्ना भएकी उनको आइतबार बिहान मृत्यु भएको थियो ।
पवित्राको मृत्युपछि परिवार तथा आफन्तले आइतबारदेखि नै अस्पतालविरुद्ध आन्दोलन थालेका छन् । अस्पताल प्रशासन र आफन्तबीच भएको प्रारम्भिक छलफल निष्कर्षविहीन बनेको छ । मृतकका परिवारले घटनाको सत्यतथ्य छानबिन, दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन् ।
पवित्राको पेटमा जुम्ल्याहा बच्चा थिए । उनी नियमित रूपमा सोही अस्पतालमा गर्भ जाँच गराउँदै आएकी थिइन् । कात्तिक २६ गते ढाड दुखेपछि नियमित जाँचका लागि अस्पताल पुगेकी उनलाई चिकित्सकले बच्चाले पेटभित्रै दिसा गरेकाले शल्यक्रिया गर्नुपर्ने बताएका थिए । त्यसको भोलिपल्ट कात्तिक २७ गते शल्यक्रिया गरी जुम्ल्याहा बच्चा निकालिएको थियो ।
बच्चा निकालिएपछि पाठेघरबाट रक्तस्राव सुरु भएको अस्पतालले परिवारलाई जानकारी गराएको थियो। तर, अस्पतालले यसबारे आफूहरूलाई मृत्यु भएपछि मात्र जानकारी दिएको आफन्तको आरोप छ । जुम्ल्याहा बच्चामध्ये एक छोरा र एक छोरी छन् । दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको आफन्तले बताएका छन् । उनीहरूलाई नवजात शिशु सघन उपचार कक्ष (एनआइसीयू) मा राखेर उपचार भइरहेको छ । मृत्यु भएको चार दिनसम्म पनि अस्पतालले आफूहरूलाई जानकारी नदिनुमा रहस्य लुकेको परिवारको आरोप छ ।
आफन्तका अनुसार अस्पतालमा उपचार खर्च एक लाख ३५ हजार रुपैयाँ पुगेको छ । आइतबार भएको छलफलमा अस्पताल प्रशासनले उपचार खर्च मिनाहा गर्ने र अनुसन्धानमा सहयोग गर्ने आश्वासन दिए पनि क्षतिपूर्तिका विषयमा भने केही नबोलेको उनीहरूको भनाइ छ । अस्पताल प्रशासन र आफन्तबीच सोमबार पुनः छलफल गर्ने तय भएको छ ।

























