सीओपीडी रोगको जोखिम र समयमै उपचारबारे जनचेतना र्‍याली

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर २, बुधबार १०:५९

विराटनगर । धूमपान, धुलो–धुवाँ र वायु प्रदूषणका कारण बढ्दै गएको दीर्घकालीन श्वासप्रश्वास रोग सीओपीडीको जोखिम न्यूनीकरण तथा समयमै पहिचान र उपचारको महत्त्वबारे जनचेतना फैलाउन मोरङको रंगेली अस्पतालले र्‍याली आयोजना गरेको छ।

विश्व सीओपीडी दिवसको अवसरमा अस्पताल परिसरबाट निकालिएको र्‍यालीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। र्‍यालीले रंगेलीको मुख्य बजार, बसपार्क, खानेपानी सडक हुँदै नगरका विभिन्न क्षेत्रको परिक्रमा गरी नागरिकलाई सीओपीडीको जोखिम, लक्षण, समयमै पहिचान र उपचारको महत्त्वबारे सचेत गराएको थियो।

र्‍यालीमा ‘समयमै सीओपीडी रोग पहिचान गरौँ, सही उपचार अपनाऔँ, जीवन सहज बनाऔँ’ लगायतका सन्देश लेखिएका प्लेकार्ड तथा ब्यानर प्रदर्शन गरिएको थियो।

सीओपीडी फोक्सो तथा श्वासप्रश्वास प्रणालीमा असर गर्ने दीर्घकालीन रोग हो। धूमपान, वायु प्रदूषण, धुलो–धुवाँ तथा हानिकारक ग्यासको लामो समयसम्म सम्पर्कमा रहनु यस रोगका प्रमुख जोखिम हुन्। लामो समयसम्म खोकी लाग्नु, खकार आउनु र सास फेर्न कठिन हुनु यसका प्रमुख लक्षण मानिन्छन्।

चिकित्सकको सल्लाहअनुसार नियमित स्वास्थ्य परीक्षण, समयमै रोगको पहिचान र उचित उपचार अपनाउँदा सीओपीडीबाट हुने जटिलता तथा जोखिम न्यूनीकरण गर्न सकिने स्वास्थ्यकर्मीले बताएका छन्।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्र कँडेल, डाक्टर अनु यादव, डाक्टर चन्द्रशेखर, डाक्टर आशिष यादवसहित अन्य स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो।

विश्व सीओपीडी दिवसले श्वासप्रश्वाससम्बन्धी रोगबारे नागरिकलाई सचेत गराउँदै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने भएकाले स्थानीय समुदायमा स्वास्थ्य जागरूकता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मेडिकल सुपरिटेन्डेन्ट कँडेलले बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.