
विराटनगर ।। कोशी प्रदेशमा १ हजार १६० जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । देशभर संक्रमण फैलिने क्रम बढिरहेका बेला कोशीमा पनि यसको जोखिम देखिएको हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशका ७४ जिल्लामा गरी हालसम्म १० हजार २१० जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण चार जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।
प्रदेशगत तथ्यांकअनुसार लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित छ । त्यहाँ २ हजार ८४८ जनामा संक्रमण देखिएको छ । यस्तै, सुदूरपश्चिममा २ हजार १३ जना, गण्डकीमा १ हजार ८९५ जना, बागमतीमा १ हजार २८४ जना, कोशीमा १ हजार १६० जना, कर्णालीमा ७५१ जना र मधेसमा २५९ जना संक्रमित भएका छन् ।
स्क्रब टाइफसको जोखिम विशेषगरी झाडी, घाँस, खेतबारी तथा जङ्गल क्षेत्रमा बढी हुने भएकाले महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ । यस्ता ठाउँमा जाँदा शरीर पूरै ढाक्ने लुगा र बुट प्रयोग गर्न तथा घर फर्किएपछि मनतातो पानी र साबुनले नुहाउन सुझाव दिइएको छ ।
अचानक तीव्र ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, अत्यधिक थकान हुने वा शरीरमा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन महाशाखाले आग्रह गरेको छ । थप जानकारीका लागि महाशाखाको कल सेन्टर १११५ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

























