‘खडेबाबा’ प्रयोग गर्ने मेडिकल कलेजमाथि कडा कारबाही गर्ने सरकारको तयारी

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार १५:१९

काठमाडौं । सरकारले मेडिकल क्षेत्रमा देखिएको बेतिथि अन्त्य गर्दै यसलाई जिम्मेवार र व्यवस्थित बनाउन कडा कदम चाल्ने भएको छ । मेडिकल कलेजको निरीक्षणका बेला मात्रै फ्याकल्टीका रूपमा उपस्थित हुने तथाकथित ‘खडेबाबा’ अर्थात् घोस्ट फ्याकल्टीको प्रयोग गर्ने प्रवृत्तिमाथि सरकारले निगरानी बढाउने भएको हो ।

शिक्षामन्त्रीको निर्देशनअनुसार अनियमितता र बेतिथिमा संलग्न मेडिकल कलेजको निगरानी गरी दोषीमाथि कडा कारबाहीको तयारी गरिएको छ। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा अस्पताल र चिकित्सकबाट लापरबाही भइरहेको भन्ने सूचनाका आधारमा सरकारले मेडिकल शिक्षाको क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न नयाँ कदम चाल्न लागेको हो ।

मन्त्रालयका अनुसार सम्बन्धित सरकारी तथा नियामक निकायले देशभरका मेडिकल कलेजमा कार्यरत फ्याकल्टीको विवरणमाथि सूक्ष्म निगरानी सुरु गर्ने तयारी गरेका छन् । फ्याकल्टीको नियुक्ति, नियमित उपस्थिति, अध्यापन, अस्पतालमा सेवा तथा निरीक्षणका क्रममा पेश गरिने विवरणसमेत जाँचको दायरामा ल्याइनेछ ।

वास्तविक रूपमा अध्यापन वा सेवा नगरी निरीक्षणका लागि मात्रै आफ्नो नाम, उपस्थिति वा कागजात प्रयोग गर्न दिएको प्रमाणित भए सम्बन्धित चिकित्सकमाथि कारबाही गरिने स्रोतले जनाएको छ ।

गम्भीर संलग्नता प्रमाणित भए नेपाल मेडिकल काउन्सिलको लाइसेन्स निलम्बनदेखि खारेजीसम्मको प्रक्रिया अघि बढ्न सक्ने जनाइएको छ। विद्यार्थी तथा सरोकारवालाबाट प्राप्त सूचना, फोटो, भिडियो र अन्य प्रमाणसमेत अध्ययन गरिने बताइएको छ । मन्त्रालयले भनेको छ, ‘अब कागजमा होइन, कक्षामा वास्तविक फ्याकल्टी चाहिन्छ। खडेबाबा प्रयोग गरेर मेडिकल कलेजको सिट वा मान्यता प्रभावित गर्ने अभ्यास प्रमाणित भए संलग्न सबैलाई जवाफदेही बनाइनेछ ।’

हालै बसेको चिकित्सा शिक्षा आयोगको बैठकमा पनि यो विषय उठेको थियो । बैठकमा यस्ता बेतिथिमा संलग्न अस्पताल र चिकित्सकमाथि कडा कारबाही गर्नुपर्ने धारणा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्र खत्रीले राखेका थिए । यसै विषयमा शिक्षा मन्त्रालयले मन्त्रालयमा प्राप्त गुनासो तथा मेडिकल शिक्षामा देखिएका समस्याबारे सरोकारवालासँग छलफल तथा अन्तर्क्रियासमेत गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×