रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १, मंगलबार १४:०९

विराटनगर । अन्तर्राष्ट्रिय खगोल विज्ञान प्रतियोगितामा नेपाली विद्यार्थीले ऐतिहासिक सफलता हासिल गरेका छन् । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा विराटनगर–५ स्थित एभरेस्ट सेकेण्डरी स्कुलकी छात्रा स्नेहा कोइरालासहित चार नेपाली विद्यार्थीले पदक जितेका छन् ।

प्रतियोगितामा नेपालले पहिलो पटक रजत पदकसहित कुल चार पदक हात पारेको हो । रुसको सिरियसमा सम्पन्न प्रतियोगितामा रिवाश राईले रजत पदक जित्दा ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक प्राप्त गरेका छन् ।

रजत पदक विजेता रिवाशले प्रतियोगितामा  ‘डायमन्ड अफ द टिम’ सम्मानसमेत प्राप्त गरेका छन् । नेपाल एस्ट्रोनोमिकल सोसाइटी ९नासो० का अध्यक्ष सुरेश भट्टराईका अनुसार अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो ।

कक्षा ११ मा अध्ययनरत स्नेहाले अन्तर्राष्ट्रिय प्रतियोगितामा कांस्य पदक जितेपछि एभरेस्ट सेकेण्डरी स्कुलले यसलाई विद्यालयका साथै देशकै गौरवको उपलब्धिका रूपमा लिएको छ । विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले विद्यार्थीले अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता मात्र नभई पदकसमेत जित्दा गौरव महसुस भएको बताए ।

विद्यार्थीको क्षमता विकासमा विद्यालयले गरेको मेहनत र लगानीले सार्थकता पाउँदै गएको उल्लेख गर्दै उनले एभरेस्टका विद्यार्थी विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम हुनुपर्ने विद्यालयको मान्यता सफल हुँदै गएको प्रस्टाए ।  ‘यो विद्यार्थी र विद्यालयको मात्रै होइन, देशकै गौरवको विषय हो,’ उनले भने ।

यसअघि यसै महिना थाइल्यान्डमा सम्पन्न पाँचौँ अन्तर्राष्ट्रिय खगोल विज्ञान तथा खगोल भौतिकी ओलम्पियाड–जुनियरमा पनि नेपाली विद्यार्थीले दुई पदक जितेका थिए । उक्त प्रतियोगितामा शाहवाज आलमले स्वर्ण र सहज केसीले कांस्य पदक प्राप्त गरेका थिए । आलमले जितेको स्वर्ण पदक अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडमा नेपालले प्राप्त गरेको पहिलो स्वर्ण हो ।

एकै महिनामा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थीले स्वर्ण, रजत र कांस्य पदक जित्नुले विज्ञान तथा खगोल विज्ञानको क्षेत्रमा नेपाली युवाको क्षमता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उनीहरूको बढ्दो उपस्थितिलाई थप उजागर गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.