
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृहमा प्रचारप्रसार तथा चुनावी अभियान जारी छ ।
त्यस क्रममा खुलातर्फ महामन्त्री पदका उम्मेदवार डा. सुनीलकुमार शर्माले आफूलाई भ्रष्टाचाररहित र स्वच्छ छविको उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् । उनले हरेक नेपाली नागरिकले भ्रष्टाचार नगर्ने र स्वच्छ छवि भएको नेता चाहेको बताउँदै आफू त्यस्तो उम्मेदवार भएको दाबी गरे ।
सांसद रहँदासमेत आफूले एक रुपैयाँ तलब–भत्ता नलिएको र नेपाल सरकारबाट बुद्ध एयरको टिकट लिएर विराटनगरसम्मसमेत नउडेको उनको भनाइ छ । ‘हरेक नेपाली नागरिकले भ्रष्टाचार नगर्ने नेता चाहन्छ । म भ्रष्टाचाररहित, क्लिन छवि भएको नेता हुँ । सांसद हुँदासमेत एक रुपैयाँ तलब–भत्ता खाएको छैन । नेपाल सरकारबाट बुद्ध एयरको टिकट लिएर विराटनगरसम्मसमेत उडेको छैन,’ डा. शर्माले भने ।
स्वास्थ्य र शिक्षा क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै उनले देशका विभिन्न भूगोलका जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेको बताए । जनतासँगको प्रत्यक्ष सम्बन्ध र लामो समयदेखि गर्दै आएको सामाजिक तथा राजनीतिक कामलाई आफ्नो उम्मेदवारीको आधारका रूपमा उनले प्रस्तुत गरेका छन् ।
उनले आफूले गिरिजाप्रसाद कोइरालाको समयदेखि नै नेपाली कांग्रेस, लोकतन्त्र र पार्टीको हितमा काम गर्दै आएको बताए । १२ बुँदे समझदारीसम्म आइपुगेको राजनीतिक प्रक्रियामा समेत आफ्नो भूमिका रहेको उनको दाबी छ ।
कांग्रेसको १५औँ महाधिवेशनमा देखिएको उत्साहलाई पनि डा. शर्माले पार्टीभित्रको नयाँ राजनीतिक माहोलका रूपमा व्याख्या गरेका छन् । ‘२०४६ सालपछि अहिलेसम्म कांग्रेसको अधिवेशनमा जुन उत्साहजनक तरिकाले पदाधिकारीको पक्षमा माहोल देखिएको छ, यो सम्भवतः पहिलो हुन सक्छ,’ उनले भने ।
आफू पार्टीका शीर्ष नेताहरूको सूचीमा नरहेको र कुनै गुटको उम्मेदवार नभएको उनले बताए । शीर्ष नेताहरूले आफूलाई हराउन चाहेको तर पार्टीका कार्यकर्ताले जिताउन चाहेको उम्मेदवार आफू भएको शर्माको भनाइ छ ।
‘म कुनै गुटको उम्मेदवार होइन । टाउकाहरूले हराउन चाहेका छन् । तर, कार्यकर्ताहरूले जिताउन चाहेको उम्मेदवार म हुँ,’ उनले भने । महामन्त्री पदका लागि आफ्नो उम्मेदवारीलाई डा. शर्माले कांग्रेसभित्र स्वच्छ राजनीति, कार्यकर्ताको सम्मान र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने अभियानका रूपमा प्रस्तुत गरेका छन् ।



















