विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहलाई विराटनगर र कटहरीका स्थानीय युवाहरूले कालो झन्डा देखाएर विरोध जनाएका छन्।
मेची–महाकाली पदयात्रामा रहेका सांसद सिंहसहितको टोली मोरङको कटहरी हुँदै विराटनगरको हाटखोला प्रवेश गरे लगत्तै स्थानीय युवाहरूले कालो झन्डा देखाएका हुन्।
हाटखोलामा भेला भएका युवाहरूले सांसद सिंहसहितको टोलीलाई सिंघिया खोलाको पुलमा कालो झन्डा देखाउँदै विरोध प्रदर्शन गरेका थिए। हुलाकी सडकखण्ड अन्तर्गत कटहरी सडक लामो समयदेखि जीर्ण अवस्थामा रहे पनि निर्माणमा ढिलाइ भएको भन्दै युवाहरूले सिंहको पदयात्राका क्रममा कालो झन्डा देखाएर विरोध जनाएका छन्।
विरोधका क्रममा प्रहरीले हस्तक्षेप गर्दै युवाहरूको हातबाट कालो झन्डा खोसेका थिए । प्रहरीले सिंहलाई सुरक्षित विराटनगर ल्याएको छ ।