
काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परेका सप्तरीको सुरुङ्गा नगरपालिकाका नगरसभापति मोहम्मद साबिर अलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बन गरेको छ ।
रास्वपाको मधेश प्रदेश समितिले विज्ञप्ति जारी गर्दै अलीलाई तत्कालका लागि जिम्मेवारीबाट निलम्बन गरिएको जनाएको हो । प्रदेश समितिका महासचिव मनिषकुमार साहद्वारा जारी विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन र अनुसन्धानको निष्पक्षता सुनिश्चित गर्न तथा कानुनी प्रक्रियाको सम्मान गर्दै अन्तिम निष्कर्ष नआएसम्म उनलाई जिम्मेवारीमा रहेर काम गर्न रोक लगाइएको उल्लेख छ ।
अनुसन्धानबाट प्राप्त निष्कर्ष र पार्टीको विधानअनुसार थप निर्णय लिने प्रतिबद्धता पनि समितिले जनाएको छ । प्रहरीले अलीलाई बुधबार सप्तरीको सुरुङ्गा नगरपालिका–४ स्थित कदमाहा बजारबाट पक्राउ गरेको थियो । सुरुङ्गा नगरपालिका–५ निवासी ४७ वर्षीय अली लागुऔषध गाँजा बरामद भएको पुरानो घटनाका आरोपी हुन् ।
२०८१ मंसिर २९ गते सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाइलमा पूर्व–पश्चिम राजमार्गमा ना. ३ ख ७५९१ नम्बरको ट्रक र बा. ८ च ९९६३ नम्बरको कार ठोक्किएका थिए । दुर्घटनापछि कारमा खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो ।
घटनापछि ट्रक चालक र कार नियन्त्रणमा लिइए पनि कार चालक फरार भएका थिए । उक्त घटनाका आरोपी अलीलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय लहानले २०८१ फागुन १५ र २०८२ पुस २६ गते सप्तरी प्रहरीलाई पत्राचार गर्दै खोजतलास गर्न अनुरोध गरेको थियो ।

























