CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90काठमाडौं । चाडपर्वमा लामो दूरीको यात्रा गर्ने यात्रुलाई स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउने उद्देश्यले गरिएको अनुगमनमा धादिङ र चितवनका २६ होटेल तथा रेस्टुरेन्टमध्ये कुनै पनि ‘अति उत्तम’ र ‘उत्तम’ श्रेणीमा पर्न सकेका छैनन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनमा १४ होटेल ‘सन्तोषजनक’ र १२ होटेल ‘सामान्य’ श्रेणीमा सीमित भएका हुन् ।
विभागका अनुसार खाद्य स्वच्छता स्तरीकरणमा ‘सन्तोषजनक’ ठहरिएका १४ होटेललाई एक तारासहितको हरियो स्टिकर र ‘सामान्य’ श्रेणीमा परेका १२ होटेललाई पहेँलो स्टिकर प्रदान गरिएको छ । अनुगमन गरिएका कुनै पनि होटेलले उच्चस्तरको खाद्य स्वच्छता मापदण्ड पूरा गरेको देखिएन ।
विभागले खाद्य स्वच्छताका आधारमा होटेल तथा रेस्टुरेन्टलाई चार श्रेणीमा वर्गीकरण गर्दै आएको छ । जसअनुसार ‘अति उत्तम’ लाई तीन तारासहितको हरियो, ‘उत्तम’ लाई दुई तारासहितको हरियो, ‘सन्तोषजनक’ लाई एक तारासहितको हरियो र ‘सामान्य’लाई पहेँलो स्टिकर प्रदान गरिन्छ।
राजमार्गमा सञ्चालित होटेल तथा रेस्टुरेन्टमा सरसफाइको अभाव, बासी तथा झिँगा भन्किएका खाना बिक्री हुने र मनपरी मूल्य असुल्ने गरेको गुनासो बढेपछि विभागले खाद्य स्वच्छता अनुगमनलाई तीव्रता दिएको हो । विशेषगरी लामो दूरीका सार्वजनिक सवारीसाधन रोकिने होटेलमा यात्रुको स्वास्थ्य र खाद्य सुरक्षालाई ध्यानमा राखेर अनुगमन गरिएको विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागको सूचनाअनुसार धादिङको बेनीघाट रोराङ तथा गजुरी र चितवनको इच्छाकामना गाउँपालिका क्षेत्रमा सञ्चालित होटेल तथा रेस्टुरेन्टको अनुगमन गरिएको हो । विभागले राजमार्गका सबै होटेल तथा रेस्टुरेन्टलाई निर्धारित खाद्य स्वच्छता मापदण्ड कडाइका साथ पालना गर्न र यात्रुको स्वास्थ्यमा खेलबाड नगर्न सचेत गराएको छ।

























