
जात्राका क्रममा तलेजु भवानीको प्रतीक मानिने पायःद्यो अर्थात् खड्गलाई तलेजुका मूल आचाजु तथा पुरोहितको विधिअनुसार राजोपाध्यायले काँधमा बोकेर मूलचोकबाट बेको चोकसम्म लैजाने चलन छ। त्यहाँ सर्वसाधारणले पूजा तथा दर्शन गर्न पाउँछन्।
तलेजुका पूर्वमूल नाइके नरेन्द्रप्रसाद जोशीका अनुसार बडादसैँको मध्यरातमा तलेजु आगम घरको खँ कुथि कोठामा तान्त्रिक विधिबाट पूजा गरिएका बलिपात्र र शस्त्रास्त्रसहित पायःद्योको प्रक्रिया सुरु हुन्छ। त्यसपछि खड्ग हस्तान्तरण गरिएसँगै जात्राले औपचारिक रूप लिन्छ।
संस्कृतिविद् प्रकाश कायस्थका अनुसार पायःद्यो जात्रामा तलेजु भवानीको प्रतीकलाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्याउने परम्परा छ। राति तलेजुलाई दरबार स्क्वायरस्थित स्वर्णद्वारमा ल्याएपछि प्रतीक्षारत नवदुर्गाका देवगणलाई पालैपालो मन्त्रसिद्धि प्रदान गरिन्छ। त्यसपछि नवदुर्गाका देवगणसहित जात्रा अघि बढाउने चलन रहेको छ।
चन्द्रमासको तिथि र परम्पराअनुसार यस वर्ष नगरको तल्लो क्षेत्रमा जात्रा सञ्चालन गरिएको थियो। खौमा, इताछे, टेखापुखु, वंशगोपाल र तौमढीलगायत स्थान परिक्रमा गर्दै नवदुर्गा र तलेजुबीचको धार्मिक परम्परा पूरा गरिएको थियो।
यसैबीच, विजयादशमीको राति तलेजु भवानीको कालरात्रि पूजा, टीका साइत पूजा तथा विसर्जन पूजा सम्पन्न भएपछि सेतो घोडा जात्रा सुरु गर्ने परम्परा छ। धार्मिक विधिअनुसार भेडाको बलि दिएपछि तलेजुको मूलचोकबाट सेतो घोडा बाहिर निकालेर नगर परिक्रमा गराउने चलन रहेको छ।
तर, आयोजकहरूबाट प्राप्त विवरणअनुसार विगत दुई वर्षदेखि सेतो घोडा जात्रा रोकिएको छ। यसबारे आयोजक पक्षले आधिकारिक कारण सार्वजनिक गरेको छैन।
भक्तपुरको खड्ग जात्रा र तलेजुसँग सम्बन्धित धार्मिक विधिहरू यहाँको ऐतिहासिक तथा सांस्कृतिक परम्पराका महत्वपूर्ण हिस्सा मानिन्छन्। यी जात्राले भक्तपुरको मौलिक धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई निरन्तरता दिँदै आएका छन्।
























