मोरङमा धार्मिक गतिविधिको आरोपमा १० विदेशीको राहदानी जफत

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ११, बुधबार १९:००
 

विराटनगर । पर्यटक भिसामा नेपाल आएर अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको र क्रिश्चियन धार्मिक गतिविधिमा संलग्न रहेको आरोपमा मोरङबाट १० जना विदेशी नागरिक पक्राउ परेका छन् ।

कानेपोखरी गाउँपालिका–७ बरगाछीमा सञ्चालित शिविरमा संलग्न ब्राजिल, क्यानडा र अमेरिकाका नागरिकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । गृह मन्त्रालयका अनुसार ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थामार्फत पर्यटक भिसामा आएका विदेशी चिकित्सकसहितको टोलीले आवश्यक अनुमति नलिई शिविर सञ्चालन गरेको थियो । उनीहरूका कागजात जफत गरी थप कारबाहीका लागि अध्यागमन विभाग पठाइएको मन्त्रालयले जनाएको छ ।

कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने तयारीसहित सुरु गरिएको शिविरमा १० जना विदेशी नागरिक संलग्न थिए । शिविरको तयारी पास्टर पावेल दंगालले गरेका थिए ।

शिविर सञ्चालन गरिएको स्थानको जग्गा र भवनलाई लिएर यसअघि पनि विवाद हुँदै आएको थियो । स्थानीय किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माण गर्ने उद्देश्यले तीन कट्ठा जग्गामा छवटा साना–ठूला भवन बनाएका थिए । तर, ती भवन पछिल्लो समय धार्मिक गतिविधि र अन्य कार्यक्रमका लागि प्रयोग हुँदै आएका थिए ।

उक्त स्थानमा यसअघि पास्टर बाङदेलले क्रिश्चियन धार्मिक कक्षा सञ्चालन गर्दै आएको बताइएको छ । धार्मिक गतिविधिका कारण उत्पन्न विवाद मत्थर पार्ने उद्देश्यले व्यवसायी श्रेष्ठले स्वास्थ्य शिविर आयोजना गरेको बताइएको छ ।

अध्यागमन विभागका अनुसार पक्राउ परेका विदेशी नागरिक अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेका थिए । उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको जनाइएको छ ।

पर्यटक भिसामा आएर अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै धर्म प्रचारमा संलग्न भएको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×