
एजेन्सी । मध्य स्पेनको टोलेडो प्रान्तमा दुईवटा रेल आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । दुर्घटनामा दर्जनौँ यात्रु घाइते भएका छन् भने क्षतिग्रस्त डिब्बामा फसेकाहरूको उद्धार कार्य जारी छ ।
बुधबार बिहान उर्दा र लस येबेनेस सहरबीच खेतबारीले घेरिएको क्षेत्रमा दुर्घटना भएको हो । स्पेनी रेल सञ्जाल सञ्चालक एडीआईएफका अनुसार दुर्घटनापछि म्याड्रिड, सिउदाद रियल तथा आन्डालुसियाबीचको रेल सेवा स्थगित गरिएको छ ।
स्थानीय अधिकारीका अनुसार म्याड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल रोकिएको अवस्थामा पछाडिबाट अर्को रेल ठोक्किएको थियो । ठक्करका कारण दुई डिब्बा लिकबाट बाहिरिएका छन् । एउटा डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । दुर्घटनाको वास्तविक कारण भने खुल्न सकेको छैन ।
स्पेनकी स्वास्थ्य मन्त्री मोनिका गार्सियाका अनुसार उद्धारकर्मीहरू बढी क्षति पुगेका डिब्बामा केन्द्रित छन् । घाइतेलाई नजिकका विभिन्न अस्पतालमा पठाइएको छ । उद्धारमा आपत्कालीन सेवा, दमकल, प्रहरी तथा सैन्य आपत्कालीन टोली परिचालन गरिएको छ ।
अधिकारीहरुका अनुसार दुर्घटनामा सरकारी रेल कम्पनी रेनफे र निजी कम्पनी इरियोका रेल संलग्न थिए । रेनफेको रेलमा ३९७ र इरियोको रेलमा १४७ यात्रु सवार रहेको बताइएको छ । दुर्घटनापछि स्थानीय प्रशासनले घाइतेको उपचार तथा उद्धारकर्मीलाई सहयोग गर्न खेलकुद भवनसमेत तयार पारेको छ ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका छन् । उनले आपत्कालीन टोली उद्धार र उपचारमा खटिएको उल्लेख गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
यसअघि जनवरीमा दक्षिणी स्पेनमा दुई रेल ठोक्किँदा ४५ जनाको मृत्यु भएको थियो । पछिल्लो घटनाले उच्च गतिको रेल सञ्जालका लागि परिचित स्पेनको रेल सुरक्षा व्यवस्थामाथि फेरि प्रश्न उठाएको छ ।

























