
विराटनगर । दसैँ र तिहारको उल्लासपछि नेपाली समाज अब छठ पर्वको तयारीमा जुट्दै छ । तराई–मधेशमा विशेष उत्साहका साथ मनाइने छठ पछिल्ला वर्षमा देशका अन्य क्षेत्रमा पनि विस्तार हुँदै गएको छ । यससँगै २०८३ सालको बाँकी अवधिमा विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीका चाडपर्व तथा सांस्कृतिक उत्सवले नेपाली समाजलाई उत्सवमय बनाउनेछन् ।
यस वर्षको छठ पर्व कात्तिक २९ गते परेको छ । सूर्यको उपासना र छठी माताको आराधना गरिने यो पर्व चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइन्छ । पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ । नदी, तलाउ, पोखरी तथा जलाशयका किनारमा सजाइने घाट, व्रतालुको श्रद्धा र सामूहिक सहभागिताले छठलाई विशेष बनाउँछ ।
छठपछि मंसिरमा पनि धार्मिक तथा सांस्कृतिक महत्त्वका पर्वहरू छन् । मंसिर ४ गते हरिबोधिनी एकादशी परेको छ । यस दिन तुलसी विवाह गर्ने परम्परा छ । मंसिर २१ गते बालाचतुर्दशी मनाइनेछ । दिवङ्गत आफन्तको सम्झनामा पशुपतिनाथलगायत शिवालयमा शतबीज छर्ने परम्परा यस पर्वको विशेषता हो । मंसिर २८ गते विवाह पञ्चमी परेको छ । त्रेतायुगमा भगवान् राम र सीताको विवाह भएको सम्झनामा विशेषगरी जनकपुरधाममा यो पर्व उत्साहका साथ मनाइन्छ ।
पुस महिनामा पनि विभिन्न समुदायका पर्व र उत्सव छन् । पुस ९ गते धान्यपूर्णिमा, उधौली र यःमरी पुन्हि एकै दिन परेको छ । किरात समुदायले प्रकृति र पितृप्रति आभार व्यक्त गर्दै उधौली मनाउँछन् । नेवार समुदायले नयाँ धान भित्र्याएको खुसीयालीमा यःमरी पुन्हि मनाउने गर्छन् । यस दिन यःमरी बनाएर खाने र आफन्त तथा छरछिमेकमा बाँड्ने चलन छ । त्यसको भोलिपल्ट पुस १० गते क्रिसमस डे मनाइनेछ । इसाई धर्मावलम्बीले येशु ख्रिस्टको जन्मोत्सवका रूपमा मनाउने यो पर्वमा शुभकामना आदानप्रदान, प्रार्थना र भेटघाट गरिन्छ ।
पुस १५ गते तमु ल्होसार परेको छ । गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने यो पर्वमा पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागत गरिन्छ । परम्परागत भेषभूषा, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भेटघाट यस पर्वका विशेषता हुन् ।
माघ १ गते माघे सङ्क्रान्ति तथा माघी पर्व मनाइनेछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनका रूपमा यसलाई धार्मिक महत्त्व दिइन्छ । तिल, चाकु, तरुल, घिउलगायत परिकार खाने चलन छ । थारू समुदायले माघीलाई नयाँ वर्ष र विशेष सांस्कृतिक पर्वका रूपमा मनाउँछन् । यसै अवसरमा समुदायका विभिन्न निर्णय गर्ने, नेतृत्व चयन गर्ने र पारिवारिक तथा सामाजिक सम्बन्ध नवीकरण गर्ने परम्परा पनि छ ।
माघ २४ गते सोनाम ल्होसार र माघ २८ गते वसन्त पञ्चमी परेको छ । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होसारमा सांस्कृतिक कार्यक्रम र परम्परागत खानपानको विशेष महत्त्व हुन्छ । वसन्त पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा गर्ने चलन छ । विद्यालय तथा शैक्षिक संस्थामा सरस्वती पूजा गरी बालबालिकालाई अक्षरारम्भ गराउने परम्परा पनि छ ।
फागुनमा महाशिवरात्रि र ग्याल्पो ल्होसारजस्ता पर्व छन् । फागुन २२ गते महाशिवरात्रि मनाइनेछ । भगवान् शिवको आराधना गरिने यस पर्वमा पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको भीड लाग्छ । फागुन २५ गते शेर्पा समुदायले नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाउनेछन् ।
चैत ७ गते पहाडी क्षेत्रमा र ८ गते तराईमा होली अर्थात् फागु पूर्णिमा मनाइनेछ । रङ, अबिर र आपसी सद्भाव साटासाट गर्दै मनाइने यो पर्वले वसन्त ऋतुको आगमनसँगै सामाजिक सम्बन्धमा उत्साह थप्छ । चैत २३ गते घोडेजात्रा पर्व परेको छ । काठमाडौं उपत्यकामा विशेष रूपमा मनाइने यस पर्वमा घोडा दौड तथा विभिन्न प्रदर्शन गरिन्छन् । यस वर्षको चैत २९ गते चैती छठ पनि परेको छ ।
यसरी हेर्दा दसैँ र तिहारपछि चाडपर्वको क्रम सकिँदैन । छठ, उधौली, यःमरी पुन्हि, ल्होसार, माघी, महाशिवरात्रि र होलीजस्ता पर्वले वर्षको बाँकी समयलाई पनि सांस्कृतिक रूपमा समृद्ध बनाउनेछन् । फरक धर्म, जाति र समुदायका आ–आफ्नै परम्परा र विश्वास भए पनि यी पर्वले आपसी भेटघाट, सद्भाव र सामाजिक एकताको अवसर प्रदान गर्दै आएका छन् ।

























