प्रतीकात्मक तस्बिरविराटनगर । मोरङको रतुवामाई नगरपालिका-९ भौडा टोलमा ग्यास सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुँदा एक महिला घाइते भएकी छन् ।
प्रहरीका अनुसार मंगलबार दिउँसो करिब ४:३० बजे स्थानीय ७४ वर्षीय राधेश्याम पौडेलको दुईतले पक्की घरको भुइँतलामा रहेको भान्छाकोठामा ग्यास लिक भएर आगलागी भएको हो ।
आगलागीमा पौडेलकी करिब ३० वर्षीया छोरी सुरक्षा भट्टराई घाइते भएकी छन् । भान्छाकोठाबाट बाहिर निस्कने क्रममा उनको अनुहार आगोले ५५ प्रतिशत जलेको प्रहरीले जनाएको छ । उनलाई सुरुमा विराट टिचिङ अस्पताल, विराटनगर लगिएको थियो । थप उपचारका लागि राति ९:४२ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ । उनको अवस्था मध्यम रहेको जनाइएको छ ।
प्रहरी चौकी इटहरामा आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक रुपेश तामाङको टोली, स्थानीयवासी र रतुवामाई नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । साँझ ५:०५ बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट भान्छाकोठामा रहेका भाँडावर्तन, फर्निचर, अन्नपात, लत्ताकपडा, एक थान फ्रिज, एक थान दराज र एक थान टेलिभिजन जलेर नष्ट भएका छन् । क्षतिको प्रारम्भिक अनुमान एक लाख १५ हजार रुपैयाँ रहेको छ । आगलागीबाट चौपायामा भने क्षति नभएको प्रहरीले जनाएको छ ।

























