उदयपुरमा माइक्रो बस दुर्घटना: चालकसहित १० जना घाइते 

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २४, मंगलबार १७:५९

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वा चोकस्थित मदन भण्डारी लोकमार्गमा माइक्रो बस दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्। दुर्घटनामा गाडीमा सवार १० वर्षीया बालिका भने सकुशल रहेकी छन्।

बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६२१ नम्बरको माइक्रो बस मंगलबार (आज) दिउँसो अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ। चालकसहित ११ जना सवार माइक्रो बस दुर्घटनामा १० जना घाइते भएका हुन् ।

घाइते हुनेमा चालक काठमाडौं महानगरपालिका–३२ का ४२ वर्षीय कृष्ण केसी, झापाको सुरुंगा नगरपालिका–३ की ४० वर्षीया रेणुका प्रसाईं र उनका १४ वर्षीय छोरा नैन प्रसाईं रहेका छन्। रेणुकाकी १० वर्षीया छोरी निरुसा प्रसाईं भने सकुशल रहेकी छन् ।

त्यस्तै, मोरङको उर्लाबारी–३ की ५० वर्षीया निलकुमारी लम्साल, सुन्दरहरैँचा–४ का ७० वर्षीय अमृतबहादुर खड्का, सुनसरीको इटहरी–१२ की ४३ वर्षीया मुना ढकाल, इटहरी–८ की ३७ वर्षीया रन्जिता गौतम, उदयपुरको बेलका–१ का ३८ वर्षीय प्रबिन तामाङ तथा चौदण्डीगढी–१० की २५ वर्षीया जमुना परियार बिक र उनका ९ वर्षीय छोरा अंकित बिक घाइते भएका छन्।

प्रहरीका अनुसार घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ। दुर्घटना हुनुको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.