
वीरगन्ज । धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावको प्रतीकका रूपमा रहेको छठ पर्वका अवसरमा नेपाली सेनाले यस वर्ष पनि छठी माता र सूर्य भगवानलाई सैनिक सलामी अर्पण गर्ने भएको छ ।
वीरगन्जस्थित श्री श्री जङ्ग गणले छठ पर्वको अवसरमा उक्त कार्यक्रमलाई निरन्तरता दिन लागेको हो । गणका प्रमुख सेनानी लोकेन्द्र कार्कीका अनुसार कात्तिक २९ गते आइतबार साँझ वीरगन्ज महानगरपालिका–१० स्थित घडिअर्वा छठ घाटमा विशेष टोलीले सलामी अर्पण गर्ने कार्यक्रम तय भएको छ ।
प्रमुख सेनानी कार्कीको नेतृत्वमा सेनाको टोली बाजागाजासहित परेड तथा मार्च गर्दै छठ घाट पुग्नेछ । निर्धारित मार्गको परिक्रमा गरेपछि घाट परिसरमा रहेको सूर्य भगवानको मन्दिरमा पुगेर सैनिक विधिअनुसार छठी माता र सूर्य भगवानलाई सलामी अर्पण गरिनेछ ।
नेपाली सेनाले यसअघि दसैँको सप्तमीका दिन नवदुर्गा भवानीलाई सलामी अर्पण गर्दै आएको थियो । गत वर्षदेखि वीरगन्जमा छठ पर्वका अवसरमा समेत छठी माता र सूर्य भगवानलाई सलामी दिने परम्परा सुरु गरिएको हो ।
छठ पूजा व्यवस्थापन समितिको आग्रहमा यस वर्ष पनि उक्त कार्यक्रम आयोजना गर्न लागिएको प्रमुख सेनानी कार्कीले जानकारी दिए ।
पछिल्लो समय छठ पर्वप्रतिको धार्मिक आस्था र लोकप्रियता बढ्दै गएको छ । सेनाको यस कार्यक्रमले धार्मिक परम्परा, सांस्कृतिक पहिचान र सामाजिक सद्भावलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

























