
ललितपुर । वरिष्ठ साहित्यकार तिलविक्रम नेम्वाङ ‘वैरागी काइँला’ ले कोशी प्रदेशमा लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न प्रशासनिक, प्राविधिक र शैक्षिक शब्दावली निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित ‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ विमोचन कार्यक्रममा बोल्दै उनले मुन्धुम र लिम्बू भाषालाई नयाँ पुस्तासम्म पुर्याउन परम्परागत शब्द निर्माण पद्धतिलाई निरन्तरता दिँदै नयाँ शब्द र अभिव्यक्ति सिर्जना गर्नुपर्ने बताए ।
लिम्बू भाषामा नयाँ शब्द निर्माणका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले समय र आवश्यकताअनुसार भाषालाई परिमार्जन तथा विकास गर्दै लैजानुपर्ने धारणा राखे । भाषाको विकासका लागि शब्दकोश तयार गर्नु मात्र पर्याप्त नहुने भन्दै उनले बदलिँदो सन्दर्भअनुसार नयाँ शब्द सिर्जना गर्ने क्षमता विकास गर्नुपर्ने बताए ।
कोशी प्रदेशमा लिम्बू भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने तयारी भइरहेका बेला यसको आवश्यकता अझ बढेको उनको भनाइ थियो । सरकारी कार्यालय, प्रशासन, शिक्षा र प्राविधिक क्षेत्रमा प्रयोग हुने शब्दावली लिम्बू भाषामै विकास गर्नुपर्ने उनले बताए ।
संसदीय प्रक्रियामा प्रयोग हुने ‘बहुमत’, ‘अल्पमत’, ‘प्रस्ताव पारित’ र ‘पारित नहुने’ जस्ता शब्ददेखि विद्यालयमा शिक्षकलाई सम्बोधन गर्न प्रयोग गरिने ‘सर’ र ‘मिस’ सम्मका शब्द लिम्बू भाषामा निर्माण गर्नुपर्ने उनले औँल्याए । यस्ता प्राविधिक तथा पारिभाषिक शब्दावली निर्माणमा याक्थुङ चुम्लुङलगायत भाषिक तथा सांस्कृतिक संस्थाले नेतृत्व लिनुपर्ने उनको सुझाव थियो ।
लिम्बू भाषामा नयाँ शब्द निर्माणको सम्भावना प्रस्तुत गर्दै काइँलाले एक विद्वान्ले हिन्दु देवी दुर्गाको ‘सिंहवाहिनी’ स्वरूपलाई लिम्बू भाषाकै शब्द निर्माण पद्धतिबाट व्याख्या गरेको प्रसङ्ग सुनाए । परम्परागत शब्दमा नयाँ प्रत्यय जोडेर देवीको स्वरूप र विशेषता अर्थपूर्ण ढंगले अभिव्यक्त गरिएको उल्लेख गर्दै उनले यस्ता नवीन प्रयोगले भाषालाई फराकिलो बनाउने बताए ।
भाषाको प्रयोग र विकासका क्रममा कमजोरी तथा अपूर्णता देखिनु स्वाभाविक भएको उनको भनाइ थियो। मुन्धुममा वर्णित मानव सिर्जनाको प्रसङ्ग उल्लेख गर्दै उनले सृष्टिकर्ता तागेरा निङ्वाभुमाले समेत कहिल्यै नमर्ने मानिस बनाउन खोज्दा सफल नभएको र अन्ततः मरणशील मानिसको सिर्जना भएको बताए ।
सृष्टिकर्ताबाट समेत कमजोरी हुन सक्ने उदाहरण दिँदै उनले मानिसले आफ्ना कमजोरीलाई स्वाभाविक रूपमा स्वीकारेर भाषा, संस्कृति र सिर्जनाको विकासमा निरन्तर लाग्नुपर्ने धारणा राखे । लिम्बू भाषा र मुन्धुमको समृद्धिका लागि नयाँ शब्द सिर्जना, व्यावहारिक प्रयोग र पुस्तान्तरणलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

























