
काठमाडौं । काठमाडौंको सितापाइलास्थित ड्रुक अमिताभ माउन्टेन (सेतो गोन्पा) मा ११औँ वार्षिक ड्रुक्पा परिषद् सुरु भएको छ । शुक्रबार आयोजित विशेष समारोहमा परिषद्को उद्घाटन सत्र सम्पन्न भएको हो ।
मंसिर १ गतेसम्म सञ्चालन हुने परिषद्मा विश्वभरका ड्रुक्पा बौद्ध गुरु, भिक्षु, आनी तथा अनुयायी सहभागी छन् । ‘विश्वव्यापी अनिश्चितताको सामना करुणा, समानता र सम्मानका साथ’ भन्ने मूल नारासहित सुरु भएको पाँचदिने परिषद्मा समसामयिक विश्वका विभिन्न चुनौतीबारे विमर्श गरिने आयोजकले जनाएको छ ।
विशेषगरी जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव, बढ्दो प्राकृतिक विपद् र वातावरण संरक्षणका विषयमा बौद्ध दर्शन तथा आधुनिक विज्ञानका दृष्टिकोणबाट छलफल हुनेछ । उद्घाटन सत्रमा नेपाल बौद्ध महासंघका अध्यक्ष नुर्बु थुण्डु शेर्पा (गेशे थुप्तेन जिन्पा) ले ड्रुक्पा काग्यु परम्पराले नेपालमा जन्मिएका शाक्यमुनि बुद्धका शिक्षाको संरक्षण, संवर्द्धन र विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरे ।
उनले नेपालका गोन्पाहरूमा यस परम्पराका गुरुहरूले प्रदान गर्दै आएको बौद्ध शिक्षालाई राष्ट्रिय शिक्षा प्रणालीको मूलप्रवाहमा जोड्नुपर्ने आवश्यकता औँल्याए । परम्परागत बौद्ध शिक्षालाई व्यवस्थित रूपमा भावी पुस्तामा हस्तान्तरण गर्न राज्यले स्पष्ट कार्यनीति बनाउनुपर्नेमा पनि उनले जोड दिए ।
अन्तर्राष्ट्रिय परिषद्ले हिमाली पर्यावरणको संरक्षण र विश्व शान्तिका लागि महत्त्वपूर्ण निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।



















