
काठमाडौं । नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानीलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन कूटनीतिक पहल गर्न सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । भोटेकोशी बाढीपछि आंशिक रूपमा मात्र सञ्चालनमा रहेको नाकालाई तत्काल पूर्ण रूपमा सुचारु गर्नुपर्ने उनीहरूको माग छ ।
नेपाल हिमालय सीमापार वाणिज्य संघको कार्यालयमा आयोजित छलफलमा बागमती प्रदेशका मन्त्री, पूर्वसांसद, परराष्ट्रविद्, स्थानीय जनप्रतिनिधि तथा व्यवसायी सहभागी थिए ।
छलफलमा सहभागीहरूले राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको तातोपानी नाका लामो समयदेखि आंशिक रूपमा मात्रै सञ्चालन हुँदा व्यवसायी र स्थानीय बासिन्दा प्रभावित भएको बताएका थिए । नाका पूर्ण रूपमा खुलाउन संघीय सरकारले पर्याप्त कूटनीतिक पहल नगरेको गुनासो गर्दै उनीहरूले तत्काल उच्चस्तरीय पहल अघि बढाउन आग्रह गरे ।
छलफलमा निवर्तमान सांसद माधव सापकोटा र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालका परराष्ट्र सल्लाहकार डा. रूपक सापकोटाले आफूहरूले चिनियाँ राजनीतिक नेतृत्वसँग तातोपानी नाका पूर्ण रूपमा सञ्चालन गर्ने विषयमा चीनमै भेटवार्ता गरेर फर्किएको जानकारी गराए । उनीहरूका अनुसार चिनियाँ पक्ष नाका पूर्ण रूपमा सुचारु गर्ने विषयमा सकारात्मक देखिएको थियो ।
नाका नजिकै रहेको ‘इको पहिरो’का कारण पटक–पटक सडक अवरुद्ध हुने समस्याप्रति पनि चिनियाँ पक्षले चासो देखाएको डा. सापकोटाले बताए ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री श्यामकृष्ण पौडेलले भोटेकोशी बाढीले निम्त्याएको जस्तो विपत्ति भविष्यमा दोहोरिन नदिन र नदी किनारका बस्तीका बासिन्दालाई त्रासमुक्त बनाउन प्रदेश सरकार संवेदनशील भएर काम गरिरहेको बताए ।



















