
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । त्यसका लागि सभामुख रामअशिष यादवले दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरेका छन् ।
प्रदेशसभा सचिवालयका अनुसार बैठकको एकमात्र कार्यसूची मुख्यमन्त्रीले विश्वासको मत लिने रहेको छ । मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
सरकारलाई समर्थन गरेका नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवको सरकार अल्पमतमा परेको छ । दुई प्रमुख सहयोगी दलले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्रीले विश्वासको मतका लागि आवश्यक समर्थन जुटाउनुपर्ने अवस्था छ ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठन गर्न तथा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक हुन्छ ।
प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।
कांग्रेसका २२ सांसद मात्रै रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न थप ३२ सांसदको समर्थन आवश्यक हुन्छ।

























