निर्माण व्यवसायी महासंघ कोशीको नेतृत्वमा बुढाथोकी

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ६, आइतबार ०९:०६

विराटनगर । निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा केशरकुमार बुढाथोकी निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न महासंघको १६औँ साधारणसभा तथा नवौँ अधिवेशनबाट प्रतिस्पर्धी कमलप्रसाद गौतमलाई १४० मतले पछि पार्दै बुढाथोकी अध्यक्ष बनेका हुन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार बुढाथोकीले २७२ मत प्राप्त गर्दा गौतमले १३२ मत पाए। अध्यक्षसहित नौवटै पदाधिकारीमा बुढाथोकी नेतृत्वको प्यानल विजयी भएको छ ।

निर्माण व्यवसायी संघ उदयपुरको कार्यसमिति सदस्यबाट संस्थागत नेतृत्वमा प्रवेश गरेका बुढाथोकीले जिल्ला संघको सचिव हुँदै प्रदेश तहसम्मको जिम्मेवारी सम्हालिसकेका छन् । महासंघ कोशी प्रदेशको नीतिगत उपमहासचिव र वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पूरा गरिसकेका उनी यसपटक अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्माण व्यवसायीका पेसागत समस्या समाधान, क्षमता अभिवृद्धि, निर्माण क्षेत्रको सुधार र सरकारी निकायसँग प्रभावकारी समन्वय गर्ने एजेन्डा अघि सारेर उनी चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । विशेषगरी कोशी प्रदेशमा अलपत्र रहेका ३६२ आयोजनाको म्याद थपलाई उनले प्राथमिकताका साथ उठाएका थिए । अन्य छ प्रदेशमा आयोजनाको म्याद थप भइसके पनि कोशीमा हुन नसकेको विषयलाई उनले चुनावी अभियानमा प्रमुख मुद्दा बनाएका थिए ।

त्यसैगरी निर्माण व्यवसायीले भोग्दै आएका भुक्तानीको समस्या, मूल्य समायोजन र सार्वजनिक खरिदसम्बन्धी नीतिगत जटिलता समाधान गर्ने प्रतिबद्धता पनि उनले जनाएका थिए । अब अध्यक्षको जिम्मेवारीसँगै ती प्रतिबद्धता कार्यान्वयन गर्नु उनका लागि मुख्य चुनौती हुनेछ ।

महासंघको प्रथम उपाध्यक्षमा रमेश कार्की २४० मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी लेखनाथ खत्रीले १५५ मत पाए । द्वितीय उपाध्यक्षमा चन्द्र सापकोटा २३३ मतसहित विजयी हुँदा ऋषिकेश रिजाल (केशव) ले १५६ मत प्राप्त गरे । तृतीय उपाध्यक्षमा मिलनकुमार बस्नेतले २६२ मत पाएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी रमेश पौडेल (दिनेश) ले १३४ मत प्राप्त गरे ।

महासचिवमा सन्तोषकुमार बस्नेत २८७ मतसहित निर्वाचित भए । उनले दुर्गाबहादुर बुर्जा मगरलाई १७२ मतान्तरले पराजित गरेका हुन्। मगरले ११५ मत पाए। पदाधिकारीमध्ये बस्नेतले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।

उपमहासचिव (नीतिगत) मा लीलाप्रसाद गुरागाईं २४४ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी योगराज दाहाल (चन्दन) ले १४९ मत प्राप्त गरे । उपमहासचिव (आन्तरिक) मा चन्द्र पाठक २४० मतसहित निर्वाचित हुँदा इन्द्रकुमार कार्कीले १५३ मत पाए ।

कोषाध्यक्षमा किशोर भट्टराई २४३ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी सुरेश भट्टराईले १४९ मत प्राप्त गरे । सहकोषाध्यक्षमा मनोजकुमार राई २३३ मतसहित विजयी हुँदा दिलबहादुर गुरुङले १६१ मत पाए ।

आठ सदस्यका लागि १० जनाबीच प्रतिस्पर्धा भएको थियो । सदस्यमा लक्ष्मी श्रेष्ठले ३६१ मत प्राप्त गर्दै निर्वाचनकै सबैभन्दा बढी मत पाइन् । उत्तमकुमार पौडेल ३५४, सुप्रिम राई ३४२, रणबहादुर कार्की ३०८, तिलकराज पोखरेल (मनोहर) २८६, चन्द्रशेखर सुवेदी २६३, गणेशप्रसाद यादव २५४ र सन्तकुमार मेहता २५३ मतसहित निर्वाचित भए ।

सदस्यका उम्मेदवार अर्जुन शेर्पाले २४५ र गोपालबहादुर बस्नेतले २४३ मत पाए पनि निर्वाचित हुन सकेनन् । प्रमुख निर्वाचन आयुक्त मुकेशकुमार उपाध्यायले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार नौ पदाधिकारी र आठ सदस्य गरी १७ जना निर्वाचित भएका छन् ।

निर्माण आयोजनाको म्याद थप, बक्यौता भुक्तानी, निर्माण सामग्रीको मूल्यवृद्धि र नीतिगत जटिलताले निर्माण क्षेत्र प्रभावित भइरहेका बेला बुढाथोकीले महासंघको नेतृत्व सम्हाल्दै छन् । कोशीका १४ वटै जिल्लाका निर्माण व्यवसायीका समस्या साझा रूपमा उठाउने, सरकारसँग समन्वय बढाउने र रोकिएका आयोजनालाई गति दिने जिम्मेवारी अब उनको नेतृत्वमा आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.