
काठमाडौं । वर्षौंदेखि अलपत्र परेको इलाम–झापा फास्ट ट्र्याकअन्तर्गत बेलासे–रक्से–गोलाखर्क सडकको ठेक्का रद्द गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ। उच्च अदालत पाटनले ठेक्का तोड्ने, धरौटी जफत गर्ने र निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने सिफारिस कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय श्रीधरकुमारी पुडासैनी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले मुद्दाको अन्तिम फैसला नभएसम्म सरकारी निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।
इलामस्थित डिभिजन सडक कार्यालयले गत कात्तिक १२ गते ठेक्का तोड्ने सूचना प्रकाशित गरेपछि निर्माण कम्पनी खड्का–कृष्ण सक्षम जेभीले त्यसविरुद्ध उच्च अदालतमा रिट दायर गरेको थियो। कम्पनीको निवेदनमाथि सोमबार सुनुवाइ गर्दै अदालतले ठेक्का रद्द गर्ने निर्णयसँगै धरौटी जफत र कालोसूचीमा राख्ने सिफारिससमेत रोक्न आदेश दिएको हो।
साढे नौ किलोमिटर लामो उक्त सडक कालोपत्रे गर्न २०७८ असार २९ गते २७ करोड २१ लाख ५३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सडकको काम २०८३ कात्तिकसम्म आइपुग्दा ४५ दशमलव २८ प्रतिशत मात्रै पूरा भएको छ।
डिभिजन सडक कार्यालयका अनुसार सुरुमा ३० महिनाभित्र सम्पन्न गर्नुपर्ने आयोजनामा पटक–पटक गरी ३३ महिना म्याद थप गरिएको थियो। यसरी कुल ६३ महिनाको समय दिँदा पनि निर्माण कम्पनीले प्रतिबद्धताअनुसार काम नगरेपछि ठेक्का रद्द गर्ने निर्णय गरिएको थियो।
यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले गत असारमा इलाम भ्रमणका क्रममा सडक निर्माण अलपत्र पार्ने कम्पनीको ठेक्का तोड्न निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार सडक डिभिजनले प्रक्रिया अघि बढाउँदै सडक विभागमा फाइल पठाएको थियो।
निर्माण कम्पनीले काम छिटो सम्पन्न गर्ने लिखित प्रतिबद्धता जनाएपछि डिभिजनले असोज मसान्तसम्म अन्तिम अवसरसमेत दिएको थियो। कम्पनीले २० दिनभित्र सडक हिलोरहित बनाउने र असोज मसान्तसम्म कालोपत्रे गर्ने प्रतिबद्धता जनाए पनि थपिएको अवधिमा सामान्य हिलो पुर्नेबाहेक उल्लेख्य काम हुन सकेन।
मेची राजमार्गको राजदुवाली खण्ड पहिरोका कारण वर्षायाममा पटक–पटक अवरुद्ध हुने गरेको छ। यस्तो अवस्थामा वैकल्पिक मार्गका रूपमा रहेको बेलासे–रक्से–गोलाखर्क सडकसमेत लामो समयदेखि अलपत्र हुँदा इलाम, पाँचथर र ताप्लेजुङका नागरिकले सास्ती खेप्दै आएका छन्।
अदालतको अन्तरिम आदेशसँगै सडक निर्माणको अन्योल थप लम्बिने देखिएको छ।वर्षौंदेखि निर्माणको प्रतीक्षामा रहेका स्थानीयवासीका लागि सडक कहिले सम्पन्न हुन्छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ।

























