सुनकोशी-मरिण ठेक्का रद्द प्रकरणमा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे छानबिन माग

Share this
651shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १०, बिहीबार ११:३८

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे स्वतन्त्र र निष्पक्ष छानबिन माग गरेका छन् ।

आयोजनाका कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा मानसिक यातना दिइएको र पर्याप्त कानुनी आधारबिना ठेक्का रद्द गरिएको उनको आरोप छ । ‘ठेक्का रद्द गर्ने अधिकार सरकारसँग होला तर कानुन कुल्चिने अधिकार छैन। यस घटनामा प्रधानमन्त्री कार्यालयको भूमिका र निर्णय प्रक्रियाबारे स्वतन्त्र तथा निष्पक्ष छानबिन हुनुपर्छ,’ उनले बिहीबार फेसबुकमा लेखेका छन्।

कांग्रेसको आह्वानमा गत १७ कात्तिकमा बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद् र संसदीय समितिका बैठक बोलाउन माग गरेको थियो । त्यसैको पृष्ठभूमिमा मंगलबार बसेको सार्वजनिक लेखा समिति बैठकले सरकारलाई सातबुँदे निर्देशन दिएको थियो । यही विषयलाई लिएर आङ्देम्बेले प्रधानमन्त्री कार्यालयका पदाधिकारीलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

आङ्देम्बेले प्रधानमन्त्री कार्यालयको कार्यशैलीमाथि प्रश्न उठाउँदै कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय गराउन कसले निर्देशन दिएको र ठेक्का रद्द गर्ने कानुनी आधार के रहेको भन्ने जवाफ मागेका छन् । ‘प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर मानसिक यातना दिने यातनागृह ?’ उनले प्रश्न गरेका छन् । राज्यलाई हुने आर्थिक क्षतिको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उनले उठाएका छन् ।

मंगलबारको सार्वजनिक लेखा समिति बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले ठेक्का रद्द गर्ने सन्दर्भमा सरकारको कार्यशैली, सार्वजनिक खरिद ऐनको उल्लङ्घन र राज्य शक्तिको दुरुपयोगबारे प्रश्न उठाएका थिए । समितिले सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको निर्देशनपछि आङ्देम्बेले प्रधानमन्त्री कार्यालयका पदाधिकारीलाई पनि छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिएका हुन् । मधेशका पाँच जिल्लाका करिब एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको यो राष्ट्रिय गौरवको आयोजना हो । आयोजनाको १३.३ किलोमिटर सुरुङको ब्रेक थ्रु भइसकेको अवस्थामा सरकारी मनपरी र प्रशासनिक हस्तक्षेपका कारण आयोजना प्रभावित भएको भन्दै आङ्देम्बेले असन्तुष्टि जनाएका छन् ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेश सभा सचिवालय
कोशी लोकसेवा आयोगको अनियमितता छानबिन गर्न उपसमिति गठन
रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो छलफल
किसानका समस्या समाधान गर्न राष्ट्रिय किसान सञ्जालको ११ बुँदे माग, आन्दोलनको चेतावनी
पुलिसलाई हराउँदै आर्मी झापा महिला गोल्डकपको फाइनलमा 
सोबिता गौतमलाई मन्त्रिपरिषद्को तेस्रो वरीयता, कसको स्थान कहाँ?
बालेनको भारत भ्रमणबारे ओलीका  कटाक्ष : गार्ड अफ अनरदेखि ग्रेटर नेपालको नक्सासम्म
धरानमा महिला सुधार केन्द्रको भवन बनाइँदै
संविधान मिचेर स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गर्न हुँदैन: प्रचण्ड
बैंककको तेल प्रशोधन केन्द्रमा विस्फोट, आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
पर्यटन विकासका कानुनी सुधारबारे ६ मन्त्रीबीच छलफल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.