
काठमाडौं । गत भदौमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका २१३ भारतीय नागरिकलाई मृत घोषणा गर्ने प्रक्रिया सुरु गरिएको छ । सूचीमा कुनै त्रुटि भए सच्याउन वा आपत्ति जनाउन भारतीय दूतावासले पीडित परिवारलाई आगामी २ डिसेम्बरसम्मको समय दिएको छ ।
भारतीय दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा नेपाल सरकारले बेपत्ता भारतीय नागरिकलाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले बेपत्ता भारतीय नागरिकको सूची आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ ।
सूचीमा नाम थप्न, हटाउन वा विवरण सच्याउन परिवारका सदस्यले भारतीय दूतावासमा सम्पर्क गर्न सक्नेछन् । त्यसका लागि दूतावासले इमेल ठेगानासमेत उपलब्ध गराएको छ ।
परिवारबाट प्राप्त सुझाव, टिप्पणी तथा संशोधनको प्रक्रिया पूरा भएपछि नेपाल सरकारले सूचीलाई अन्तिम रूप दिई औपचारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढाउनेछ ।
त्यसपछि भारतीय दूतावासले नेपालका स्थानीय निकायबाट उनीहरूको मृत्यु प्रमाणपत्र प्राप्त गर्नेछ । यस क्रममा दूतावासले बेपत्ता व्यक्तिका परिवारसँग थप विवरण तथा आवश्यक कागजात माग्न सक्ने जनाएको छ । यसबारे थप जानकारी आगामी दिनमा सार्वजनिक गरिने पनि दूतावासले जनाएको छ ।

























