
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आइतबारदेखि सातै प्रदेशमा नीति र नेतृत्वसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार संगठन सुदृढीकरण, पार्टीको नीति र नेतृत्वका विषयमा केन्द्रित रहेर प्रशिक्षण आयोजना गर्न लागिएको हो ।
प्रशिक्षण कार्यक्रमको खाका तयार भइसकेको र शनिबारसम्म तयारी पूरा हुने उनले बताए । सातै प्रदेशमा हुने कार्यक्रममा पार्टीको केन्द्रीय नेतृत्वसमेत सहभागी हुनेछ ।
‘संगठन सुदृढीकरणका लागि नीति र नेतृत्वसम्बन्धी प्रशिक्षण कार्यक्रम राखिएको हो। केन्द्रीय नेतृत्व सहभागी हुने गरी आइतबारदेखि सातै प्रदेशमा कार्यक्रम गर्दैछौँ। शनिबारसम्म तयारी पूरा हुन्छ’ खरेलले भने ।
प्रशिक्षणका क्रममा संगठन सुदृढीकरणसँगै आगामी स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा पनि छलफल गरिने रास्वपाले जनाएको छ ।

























