
झापा । झापा कारागारमा क्षमताभन्दा दोब्बरभन्दा बढी कैदीबन्दी राखिएका छन्। पुरानो भवन, साँघुरो कोठा र अत्यधिक चापका कारण कैदीबन्दीले कठिन परिस्थितिमा बस्नुपरेको छ।
कारागारमा एक हजार ७१० जना कैदीबन्दी छन्। तीमध्ये ९२९ जना कैदी र ७८१ जना थुनुवा रहेका छन्। कुल संख्यामध्ये एक हजार ६२६ पुरुष र ८४ महिला रहेको कारागार प्रशासन प्रमुख पूर्णबहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार कारागारमा ६५ वर्षमाथिका २४ ज्येष्ठ नागरिक, एक गर्भवती महिला र एक आश्रित नाबालकसमेत छन्। त्यस्तै, १९ जोडी विवाहित कैदीबन्दी रहेका छन्। राष्ट्रियताका आधारमा १२२ भारतीय र २९ भुटानी नागरिकले कैद तथा थुनुवा जीवन बिताइरहेका छन्।
कारागारमा रहेका कैदीबन्दीमध्ये सबैभन्दा ठूलो हिस्सा लागुऔषधसम्बन्धी मुद्दाका छन्। यस कसुरमा ५६ महिला र ७९४ पुरुष गरी ८५० जना रहेका छन्। त्यस्तै, जबरजस्ती करणीका ३५९, चोरीका १३५, कर्तव्य ज्यानका ११४, ठगीका १६ र अभद्र व्यवहारका १३ जना रहेका छन्। बाँकी अन्य मुद्दाका कैदीबन्दी हुन्।
वि.सं. २०२० मा निर्माण भएको झापा कारागार सुरुमा ३५० जना राख्ने क्षमताको थियो। पछि आन्तरिक संरचना थपेर क्षमता ७५० पुर्याइएको भए पनि हाल त्यसको तुलनामा कैदीबन्दीको संख्या दोब्बरभन्दा बढी पुगेको छ।
पुरानो संरचना र बढ्दो कैदीबन्दीको चाप व्यवस्थापन गर्न भद्रपुर नगरपालिका–१० स्थित कलबलगुढीमा नयाँ कारागार निर्माणको तयारी गरिएको छ। कोशी प्रदेश प्रशिक्षण केन्द्रसँग जोडिएको १० बिघा जग्गा कारागार निर्माणका लागि व्यवस्थापन गरिएको छ। नयाँ कारागारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने प्रक्रिया पनि अघि बढाइएको कारागार प्रशासनले जनाएको छ।



















