
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो ८ सय ग्राम थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको केरला, मुलरिया निवासी २९ वर्षीय अब्दुल नौशाद रहेका छन् । उनलाई मंसिर ८ गते लागुऔषध नियन्त्रण ब्युरोको विमानस्थल शाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार हवाई मार्गबाट नेपाल प्रवेश गर्ने शंकास्पद यात्रुमाथि निगरानी गर्ने क्रममा नौशादको साथमा रहेको ४.८ किलोग्राम थाई गाँजा फेला परेको थियो ।
उनी बाटिक एयरको ओडी १८२ नम्बरको उडानमार्फत थाइल्यान्डबाट मलेसियाको क्वालालम्पुर हुँदै काठमाडौं आएका थिए ।
प्रहरीले नौशादको साथबाट एक थान राहदानी र एक थान मोबाइलसमेत बरामद गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन् ।

























