
विराटनगर । किराँत समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको साल्पा–सिलिचुङलाई विश्वस्तरमा चिनाउने उद्देश्यसहित त्यहाँ मुन्दुमी संरचनाहरू निर्माण गरिएका छन्। खोटाङ, भोजपुर, संखुवासभा र सोलुखुम्बुको संगमस्थलमा रहेको यस क्षेत्रमा सुम्निमा, पारुहाङ, नाक्छुङ, नाक्छुङ चरा, तीन चुल्हासहितको मुन्दुमी माङथाम र चिन्डोसहितको प्रवेशद्वार निर्माण गरिएको हो।
साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका अध्यक्ष राजेन खिम्बु राई ‘मूलघरे कान्छा’का अनुसार देश तथा विदेशमा रहेका किराँती र गैरकिराँतीबाट संकलित दुई करोड ८४ लाख रुपैयाँमध्ये दुई करोड ६२ लाख रुपैयाँ खर्चेर संरचना निर्माण गरिएको हो।
समितिले २०७९ सालमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी तीन चरणमा निर्माण अभियान अघि बढाएको थियो। यस क्रममा २०८१ वैशाख ७ गते सुम्निमा, पारुहाङ र नाक्छुङको प्रतिमा स्थापना गरिएको थियो। २०८२ वैशाख १ गते तीन चुल्हासहितको मुन्दुमी माङथाम निर्माण गरियो भने यस वर्ष ३५ फिट अग्लो पित्तलको जोडी चिन्डो, पोखरीभित्र पारुहाङको प्रतिमा र नाक्छुङ चराको प्रतिमा स्थापना गरिएको हो।
समितिले साल्पा–सिलिचुङलाई किराँती मुन्दुम र रिसियाको उत्पत्ति केन्द्रका रूपमा संरक्षण तथा प्रवर्द्धन गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत गराउने लक्ष्य राखेको छ। निर्माण गरिएका संरचनाले भावी पुस्तालाई मुन्दुमी ज्ञानको अध्ययन तथा अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष राईले बताए। अभियानमा नेपालसहित बेलायत, हङकङ, कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान र इजरायलमा रहेका नेपालीसमेत जोडिएका छन्।
समुद्री सतहदेखि तीन हजार ४४३ मिटर उचाइमा रहेको साल्पा–सिलिचुङ क्षेत्र धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ। साल्पापोखरी तीन हजार ६७२ मिटर र सिलिचुङको उचाइ चार हजार १५५ मिटर रहेको छ। यहाँबाट सगरमाथा, मकालु, कञ्चनजंघा, कुम्भकर्ण र मेरापिकलगायत हिमाल तथा तराईका फाँटसमेत अवलोकन गर्न सकिन्छ।
किराँत समुदायको आस्थाको केन्द्र मानिने साल्पापोखरीमा वैशाख, भदौ, कात्तिक र फागुन पूर्णिमामा मेला लाग्ने गर्छ। पछिल्लो समय मुन्दुम पदमार्गको विस्तारसँगै आसपासका क्षेत्रमा होटल तथा होमस्टे सञ्चालन हुन थालेका छन्। यसले आन्तरिक तथा बाह्य पर्यटकको आवागमनसमेत बढाउन थालेको स्थानीयको भनाइ छ।
करिब चार वर्षदेखि सञ्चालन भइरहेको अभियानको आर्थिक तथा भौतिक प्रगति मङ्सिर १८ गते काठमाडौंमा कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने समितिले जनाएको छ।
सरकारले निर्धारण गरेको घुम्नुपर्ने १०० पर्यटकीय गन्तव्यभित्र पर्ने मुन्दुम पदमार्ग साल्पा–सिलिचुङसम्म विस्तार भएसँगै चारै जिल्लाका स्थानीय तहले पदमार्ग निर्माण तीव्र पारेका छन् । विगतमा चौँरीगोठ र भेँडीचोकमा बास बस्नुपर्ने अवस्था रहे पनि पछिल्लो समय पदमार्ग आसपास होटल तथा होमस्टे विस्तार भएसँगै घाँसेमैदान, चौँरीखर्क र घोडचढीको आनन्द लिन आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको स्थानीयले बताएका छन् ।

























