प्रत्येक वर्ष एक करोड २० लाख बालिका बालविवाहको सिकार

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ११, शुक्रबार ०७:४०
काठमाडौं । बालविवाहका कारण विश्वभर लाखौँ बालिकाको बाल्यकाल, शिक्षा र भविष्य प्रभावित भइरहेका बेला संयुक्त राष्ट्र संघले यसको अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ। विश्वमा प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेको राष्ट्र संघले जनाएको छ।
बालविवाह, कम उमेर तथा जबरजस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्र सङ्घले यस्तो तथ्य सार्वजनिक गरेको हो। महासभाले गत सेप्टेम्बर ४ मा प्रस्ताव पारित गरेपछि नोभेम्बर २७ लाई पहिलोपटक यस दिवसका रूपमा मनाउन लागिएको हो । बालविवाह र जबरजस्ती विवाह अन्त्यसम्बन्धी आज अन्तर्राष्ट्रिय दिवस हो।
राष्ट्र संघका अनुसार सन् २०२६ सम्म विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिकाको विवाह १८ वर्ष नपुग्दै भएको छ। विश्वभर प्रत्येक पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह हुने गरेको छ भने प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार हुने गरेकी छन्।
पछिल्लो एक दशकमा विश्वव्यापी बालविवाहको दर १५ प्रतिशतले घटेर २५ प्रतिशतबाट २१ प्रतिशतमा झरेको छ। यस अवधिमा करिब दुई करोड ५० लाख बालविवाह रोक्न सफलता मिलेको छ। तर, यही गतिमा बालविवाह अन्त्य गर्न अझै करिब ३०० वर्ष लाग्ने राष्ट्र  संघको आकलन छ।
विश्वमा बालविवाहको सबैभन्दा ठूलो भार दक्षिण एसियाले बेहोर्दै आएको छ। विश्वभर बालविवाहमा परेका महिला तथा बालिकामध्ये ४४ प्रतिशत अर्थात् करिब २८ करोड ५० लाख दक्षिण एसियामा छन्। त्यस्तै, उपसहारा अफ्रिकामा १८ प्रतिशत अर्थात् करिब ११ करोड ५० लाख रहेका छन्।
राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गरिबी, द्वन्द्व, जलवायुजन्य विपद् र विस्थापन बालविवाहका प्रमुख जोखिम रहेको उल्लेख गर्दै बालिकाको शिक्षा, आर्थिक अवसर र कानुनी संरक्षण विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
दिगो विकास लक्ष्यले सन् २०३० सम्म बालविवाह तथा जबरजस्ती विवाहजस्ता हानिकारक प्रथा अन्त्य गर्ने लक्ष्य राखेको छ। त्यसका लागि कानुनी व्यवस्था कार्यान्वयन, गुणस्तरीय शिक्षामा पहुँच, सामाजिक सुरक्षा र बालिकाको निर्णय प्रक्रियामा सहभागिता बढाउन राष्ट्र सङ्घले सरकार तथा सरोकारवालालाई आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
प्रत्येक वर्ष एक करोड २० लाख बालिका बालविवाहको सिकार
क्षमताभन्दा दोब्बर कैदीबन्दी झापा कारागारमा
सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग
विराट एक्स्पोमा स्टार्टअप तथा उद्यमशीलता पेभिलियन
देशभरको मौसम मुख्यतया सफा रहने, कोशीको हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
राष्ट्र बैंकले निर्धारण गर्‍यो विदेशी मुद्राको विनिमय दर
राष्ट्र बैंकले निर्धारण गर्‍यो विदेशी मुद्राको विनिमय दर
कोशी प्रदेश सभा सचिवालय
कोशी लोकसेवा आयोगको अनियमितता छानबिन गर्न उपसमिति गठन
रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो छलफल
किसानका समस्या समाधान गर्न राष्ट्रिय किसान सञ्जालको ११ बुँदे माग, आन्दोलनको चेतावनी
पुलिसलाई हराउँदै आर्मी झापा महिला गोल्डकपको फाइनलमा 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.