
सेतो सधैँ सफा र राम्रो हुँदैन,
रक्सी त्यसै बदनाम छ यहाँ।
चिनी र मैदाले बिगार्छ स्वास्थ्य,
कहाँ सफा हुन्छ र सबैको दिल?
तिनैले दिन्छन् धेरै पीर।
कालो सधैँ नराम्रो होइन,
रात सधैँ त्रासको नाम होइन।
दिनमा सधैँ असल हुँदैन,
क्रान्तिका नाममा धरोहर जलेको
दिनमा होइन र?
रक्सीको बोतलमा
दोष खोज्ने समाज,
चिनीको प्याकेटमा
मिठास मात्र खोज्छस्।
तर मानिसको हातमा
लोभको प्याला देख्दैनस्—
किनकि सबै नशा
बोतलमा हुँदैनन्।
मानिसको मूल्य
हुलमा हुँदैन,
हुलले सत्य बोल्दैन।
बदनामीलाई सधैँ पीडा नमान,
तिमीसँग तागत छ,
तिमी बेदाग छौ।
विना अर्थ तिम्रा आदर्श
सधैँ फुस्रा।
प्रशंसा सधैँ महान् हुँदैन,
इतिहासले धेरैपटक
भीडको फैसला सच्याएको छ,
र मौन सत्यलाई
समयले आवाज दिएको छ।
पर्दाभित्र भ्रम हुन्छ,
सेतो राम्रो पर्दा बन्छ।
तिम्रो श्रम जीवनभर
हराएर जान्छ, किनकि
पसिना फोहोर हुन्छ।



















