
काठमाडौं । म्यानमारको सैन्य सरकारले विभिन्न स्थानमा गरेको हवाई आक्रमणमा परी विवाह समारोहका सहभागी, विद्यार्थी र सर्वसाधारणसहित ५० भन्दा बढीको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
बीबीसीका अनुसार शनिबार दक्षिणी शान राज्यको मोए बाइ गाउँमा विवाह समारोह चलिरहेका बेला सेनाले हवाई आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ। घटनामा अन्य ३५ जना घाइते भएका छन्।
यसअघि बिहीबार मध्य म्यानमारको मग्वे क्षेत्रस्थित इन योन गाउँको एक विद्यालयमा भएको हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको थियो। मृतकमा विद्यार्थी, युवा भिक्षु र शिक्षकसमेत रहेको निर्वासित सरकार नेसनल युनिटी गभर्मेन्ट ९एनयूजी०ले जनाएको छ।
त्यस्तै, शनिबार साँझ पश्चिम म्यानमारको राखाइन राज्यस्थित म्राउक–यू सहरको आवासीय क्षेत्रमा भएको बमबारीमा १० भन्दा बढीको मृत्यु भएको र करिब २० जना घाइते भएको बताइएको छ।
म्यानमारका विभिन्न क्षेत्रमा सैन्य शासनविरुद्ध प्रतिरोधी तथा जातीय सशस्त्र समूहहरू सक्रिय छन्। सेनाले गरेका यी आक्रमणबारे सैन्य नेतृत्वको सरकारले भने कुनै प्रतिक्रिया जनाएको छैन।

























