
झापा । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गरेको सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको च्याम्पियन बनेको छ। निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा एपीएफले ४–२ को जित निकाल्दै उपाधि रक्षा गरेको हो।
झापाको दुधेमा आयोजित प्रतियोगिताको उपाधिसँगै एपीएफले ११ लाख रुपैयाँ नगद र आकर्षक ट्रफी प्राप्त गरेको छ। उपविजेता आर्मीले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।
प्रतिस्पर्धात्मक खेलमा आर्मीले पहिलो हाफमै अग्रता बनाएको थियो। खेलको ३१औँ मिनेटमा सुक्रिया मियाको क्रस पासलाई सदुपयोग गर्दै विमला चौधरीले गोल गरेपछि आर्मीले १–० को अग्रता लिएको थियो।
तर, दोस्रो हाफमा एपीएफले उत्कृष्ट पुनरागमन गर्यो। खेलको ६० औँ मिनेटमा रश्मिकुमारी घिसिङले डिबक्सको साइड एंगलबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि खेल १–१ को बराबरीमा पुगेको थियो। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो।
टाइब्रेकरमा एपीएफकी गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले गोल गरे। आर्मीकी तुलसा बोहोरा र सुस्मिता चौधरीले मात्र गोल गर्न सके। आर्मीकी यशोदा शाही र विमला थापाको प्रहारलाई एपीएफकी गोलरक्षक एञ्जिला तुम्बापोले उत्कृष्ट बचाउ गरेपछि एपीएफले ४–२ को जित सुनिश्चित गर्यो।
खेलको प्लेयर अफ द म्याच एपीएफकी गोलरक्षक एञ्जिला तुम्बापो घोषित भइन्। उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि एपीएफकै खेलाडीको वर्चस्व रह्यो। सर्वाधिक नौ गोल गरेकी रश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।
त्यस्तै, उत्कृष्ट गोलरक्षक एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर गीता राना र उत्कृष्ट प्रशिक्षक जिवेसकुमार पाण्डे घोषित भए। उत्कृष्ट फरवार्डको उपाधि भने आर्मीकी चन्द्रा भण्डारीले प्राप्त गरिन्। व्यक्तिगत विधाका विजेताले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए।
मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका आठ टोली सहभागी थिए। प्रतियोगितामा भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा–११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गरेका थिए।
विजेता तथा उपविजेता टोलीलाई शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, मुख्य प्रायोजक एक्स्ट्रिमका प्रतिनिधि राजन मल्लिक, झापा–११ एफसीका अध्यक्ष जलकुमार गुरुङ तथा गोल्डकपका अध्यक्ष सन्तोष थोप्रालगायतले पुरस्कार वितरण गरेका थिए।
गत वर्ष सम्पन्न पहिलो संस्करणमा नेपाल पुलिस क्लबसँग १–० गोलले पराजित हुँदै उपविजेतामा सीमित भएको एपीएफले दोस्रो संस्करणमा भने उपाधि जित्दै आफ्नो उत्कृष्टता प्रमाणित गरेको छ।

























