
सुनसरी । गृहमन्त्री सुधन गुरुङले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शनिबार अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता र बिचौलियाको सम्भावित प्रभावबारे चासो राखे।
गृहमन्त्री गुरुङले बिरामीको हित, स्वास्थ्य सेवा र सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउनेजस्ता गतिविधि नियन्त्रण गर्न पनि उनले निर्देशन दिए ।
त्यस अवसरमा उपकुलपति प्रा. डा. स्मृति कार्की, निर्देशक इन्द्रकुमार लिम्बूलगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, सुधारका प्रयास र भावी योजनाबारे जानकारी गराएका थिए ।
गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनको अवस्थाबारे पनि जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन उनले निर्देशन दिए ।
यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे । इटहरीमा आयोजित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने क्रममा उनी आएका हुन् ।

























