इटहरीमा गुरुङ समुदायको केन्द्रीय पार्षदसभा

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १२, शनिबार १६:१२

सुनसरी । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभा शनिबार सुनसरीको इटहरीमा सुरु भएको छ । गुरुङ समुदायको भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले सभा आयोजना गरिएको हो ।

‘थातथलो हाम्रो गौरव, अमूर्त सम्पदा हाम्रो पहिचान, संरक्षण र पुस्तान्तरणका लागि १५औँ पार्षदसभा अभियान’ भन्ने मूल नाराका साथ आयोजित सभाको उद्घाटन गृहमन्त्री सुदन गुरुङले गरेका छन् ।

परिषद्का अध्यक्ष धनमान गुरुङले संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउँदै गुरुङ समुदायसँग आबद्ध विभिन्न जातीय, पेसागत तथा अन्तर्राष्ट्रिय संस्थालाई समेट्ने उद्देश्यले पार्षदसभा आयोजना गरिएको बताए । उनका अनुसार सभाले गुरुङ समुदायको सांस्कृतिक पहिचान संरक्षणसँगै संगठनको आगामी कार्यदिशा तय गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

परिषद्का महासचिव अधिवक्ता राजु गुरुङले सभामा संस्थाको विधान संशोधन, आगामी नीति तथा कार्यक्रम र गुरुङ समुदायको अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा पुस्तान्तरणका विषयमा छलफल हुने बताए। पार्षदसभामा ६ प्रदेश कार्यसमिति, ३४ जिल्ला कार्यसमिति, भ्रातृसंस्था, पेसागत तथा विशेष संस्थाका प्रतिनिधिसहित करिब ३५० जनाको सहभागिता छ ।

परिषद्का अनुसार सभाको उद्घाटन सत्र इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा र बन्द सत्र आइतबार सत्संग पार्टी प्यालेसमा सञ्चालन हुनेछ ।

यसैबीच, कार्यक्रममा भोटेकोशी क्षेत्रका बाढीपीडितका लागि परिषद्ले संकलन गरेको राहत रकम गृहमन्त्री सुदन गुरुङलाई हस्तान्तरण गरिएको छ । परिषद्का केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङले राहत रकम हस्तान्तरण गरिएको जानकारी दिए ।

पार्षदसभामा गुरुङ समुदायको सांस्कृतिक सम्पदा संरक्षणका लागि विभिन्न प्रदेशमा स्रोत केन्द्र तथा संग्रहालय स्थापना गर्ने प्रस्तावमाथि पनि छलफल हुनेछ । प्रस्तावअनुसार लुम्बिनी प्रदेशको रुपन्देहीमा प्येता ल्हुता अध्ययन स्रोत केन्द्र तथा संग्रहालय, कोशी प्रदेशमा रोधी स्रोत केन्द्र तथा संग्रहालय, बागमती प्रदेशको चितवनमा खेमा स्रोत केन्द्र तथा संग्रहालय र गण्डकी प्रदेशमा तमू अन्तर्राष्ट्रिय सांस्कृतिक स्रोत केन्द्र तथा संग्रहालय स्थापना गर्ने योजना छ ।

सभाले गुरुङ समुदायको भाषा, संस्कृति, परम्परा र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउने आगामी रणनीति तय गर्ने आयोजकको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.