
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आफ्नो ३५ औँ स्थापना दिवस विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रमका साथ मनाएको छ। बिर्तामोडमा आयोजित भव्य समारोहमा शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्व, शिक्षक, विद्यार्थी र पत्रकारहरूलाई सम्मान गरियो।
स्थापना दिवसको अवसरमा विशिष्टताको आधारमा विराटज्योति अंग्रेजी माविका गणेशप्रसाद ओली, देवकुल अंग्रेजी माविका धरणीधर मैनाली र प्रभुकुमार श्रेष्ठ तथा रूपरत्न अंग्रेजी माविलाई ‘संस्थापक प्रिन्सिपल सम्मान’ प्रदान गरियो। त्यस्तै, टावर टेम्पल अंग्रेजी विद्यालयका संस्थापक प्रिन्सिपल स्वर्गीय नरेशमान धिमाललाई मरणोपरान्त सम्मान गरियो। अविछिन्न सेवातर्फ हरिकुल नमूना माविका शिक्षक मुक्ति दाहाल र उत्कृष्ट पालिका सम्मानतर्फ प्याब्सन अर्जुनधारा पुरस्कृत भए।
नपत्रकारिता क्षेत्रबाट पूर्वाञ्चल दैनिकका सह-सम्पादक एवं इमानका सचिव सुरेन्द्र भण्डारी तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने सम्मानित भए।
शैक्षिक उपलब्धितर्फ एसईई २०८१ मा ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई नगदसहित प्रशंसा-पत्र प्रदान गरियो। सम्मानित हुनेहरूमा प्रज्ञा एकाडेमीकी मिनकुमारी दास, नेशनल मेरीगोल्डका प्रनिल सत्याल, बाल्मीकि एजुकेशनका हृदयप्रसाद शिवाकोटी र अंकित कटुवाल रहेका छन्। यस्तै माउन्ट एभरेष्ट, इमिनेन्ट कञ्चनजंघा, नमूना अंग्रेजी विद्यालय, पारिजात मावि, ज्ञानकुञ्ज एकाडेमी र ज्ञानोदय आवासीय माविका उत्कृष्ट विद्यार्थीहरू पनि सम्मानित भए।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका वरिष्ठ सल्लाहकार टिकाराम पुरी र अध्यक्ष छत्रबहादुर कार्कीले सम्मानित व्यक्तित्वहरूलाई सम्मान-पत्र प्रदान गरे। प्रमुख अतिथि पुरीले संस्थागत विद्यालयहरूले देशको शैक्षिक गुणस्तर उकास्न खेलेको भूमिकाको प्रशंसा गरे।
शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख कुमार बस्नेत र बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तीलचन भण्डारीले शुभकामना मन्तव्य राख्दै प्याब्सनको योगदानको चर्चा गरे। प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए। समारोहमा जिल्लास्तरीय सामूहिक नृत्य, शास्त्रीय नृत्य र विभिन्न उमेर समूहका विद्यार्थीहरूको गायन प्रतियोगिताले थप रौनक थपेको थियो।

























