राजनीतिमा लाग्नुअघि सीप र पेसा अनिवार्य हुनुपर्छ : टीकाराम पुरी

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष २८, सोमबार १८:४०
राजनीतिमा लाग्नुअघि सीप र पेसा अनिवार्य हुनुपर्छ : टीकाराम पुरी

विराटनगर । राजनीतिमा सक्रिय हुनु पूर्व कुनै निश्चित पेसा वा सीप हुनु अनिवार्य रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पुरीले बताएका छन् ।

विराटनगरमा आयोजित प्याब्सन मोरङको दोस्रो जिल्ला परिषद् भेलालाई सम्बोधन गर्दै पुरीले नेपालमा व्याप्त  ‘झोले’ राजनीतिले देशको विकास र समृद्धिको यात्रालाई अवरुद्ध पारेको टिप्पणी गरे ।

Advertisement

आफ्नो ३२ वर्ष लामो शैक्षिक यात्राको अनुभव सुनाउँदै पुरीले राजनीतिक आडमा विलासी जीवन बिताउनेहरू माथि कडा प्रहार गरे । उनले भने, ‘मैले तीन दशकभन्दा बढी समय विद्यालय चलाएँ । वार्षिक ३५ देखि ४० करोडको कारोबार गर्छु, तर अहिलेसम्म काठमाडौंमा एउटा घर बनाउन सकेको छैन । अहिले पनि ५०–६० लाखको गाडी ऋणमै चढेको छु ।’

उनले विडम्बनापूर्ण स्थितिको चित्रण गर्दै थपे, ‘कुनै निश्चित आयस्रोत नभएका नेताहरू साढे ३ / ४ करोडको गाडी चढ्छन् र हामी जस्ता दुःख गरेर संस्था चलाउनेहरूलाई उल्टै ‘शिक्षाका माफिया र शोषक’ भन्दै गाली गर्छन् । यो कस्तो विडम्बना हो ?’

पुरीले देशमा उत्पादनशील जनशक्तिभन्दा पनि राजनीतिक संरक्षणमा बाँच्ने ‘झोलेहरूको संख्या बढ्दै गएकोमा गहिरो चिन्ता व्यक्त गरे । मानिससँग आफ्नै पेसा र कमाइ नहुँदा उ सत्तामा पुग्ने बित्तिकै भ्रष्टाचारमा लिप्त हुने उनको तर्क छ ।

अहिलेको नयाँ पुस्ता (जेनजी) लाई शिक्षा र पेसा छोडेर राजनीतिक झोला बोक्न उक्साउने प्रवृत्तिले देशलाई थप कंगाल बनाउने उनले चेतावनी दिए । शिक्षक र विद्यालय सञ्चालकहरूलाई आग्रह गर्दै उनले भने, ‘हाम्रा विद्यार्थीलाई पहिला पढ्न, एउटा सीप सिक्न र आत्मनिर्भर बन्न सिकाऔँ । राजनीति त्यसपछिको पाटो हो ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.