
विराटनगर । विराटनगरको मार्टस मेमोरियल फाउन्डेसनको अध्यक्षमा विष्णु डंगोल नियुक्त भएका छन् ।विराटनगरमा आयोजित एक कार्यक्रमका बीच नवनियुक्त अध्यक्ष डंगोलको पदस्थापन गरिएको हो ।
लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय डंगोलको नेतृत्वमा फाउन्डेसनले विराटनगरमा नयाँ शैक्षिक योजना अघि बढाएको छ । आगामी नयाँ शैक्षिक सत्रदेखि विराटनगरमा ‘मार्टस मेमोरियल प्लस टु’ सञ्चालनमा ल्याउने तयारी गरेको फाउन्डेसनले जनाएको छ । ३१ जना सञ्चालक रहेको यस कलेजलाई विराटनगरकै नमुना शैक्षिक संस्था बनाउने लक्ष्य राखिएको बताइएको छ ।
विराटनगरलाई शैक्षिक ‘हब’ का रूपमा विकास गर्ने संकल्पका साथ करिब ७ करोड रुपैयाँको लगानीमा यो परियोजना अघि बढाइएको कलेजका प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिए । उनका अनुसार विराटनगर –१० मा कलेजको अत्याधुनिक शैक्षिक भवन निर्माण भइरहेको छ ।
आगामी ३ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको बताएका, प्रिन्सिपल श्रेष्ठले भने, ‘यो भवन पूर्ण रूपमा वातानुकूलित (एसी) हुनुका साथै यहाँ स्मार्ट कक्षा कोठा र आधुनिक प्रयोगशाला (ल्याब) को सुविधा रहनेछ ।’
गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना हुन लागेको यस कलेजले विराटनगरको शैक्षिक गरिमालाई थप उचाइमा पुर्याउने विश्वास लिएको श्रेष्ठले बताए ।

























