
रंगेली । मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था गम्भीर रूपमा खस्किएको तथ्य बाहिर आएको छ । यस वर्षको कक्षा ८ को नगरस्तरीय वार्षिक परीक्षाको नतिजाले उक्त तथ्य उजागर गरेको हो ।
वर्षौंदेखि विद्यालय आफैंले परीक्षा सञ्चालन गर्ने र उत्तरपुस्तिका परीक्षण गरेर लगभग शतप्रतिशत नतिजा देखाउने परम्परा यस वर्ष तोडिँदा वास्तविक अवस्था सतहमा आएको छ । नगरपालिकाले परीक्षा प्रणालीलाई मर्यादित र निष्पक्ष बनाउन अपनाएको नयाँ व्यवस्थाले विद्यालयहरूको वास्तविक शैक्षिक स्तर कति कमजोर छ भन्ने स्पष्ट देखाएको हो ।
शैक्षिक सत्र २०८२ मा ९ सय ४५ विद्यार्थीले कक्षा ८ को परीक्षा दिएका थिए । तीमध्ये मात्र ४ सय ५४ जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । समग्र उत्तीर्ण प्रतिशत ४८.०४ रहेको शिक्षा शाखा प्रमुख लीला ओझाले जानकारी दिइन् ।
रंगेलीको विद्यालय शिक्षाको स्तर कति कमजोर बन्दै गएको छ भन्ने देखाउने यो प्रतिशत गम्भीर चिन्ताको विषय बनेको छ । यस वर्ष नगरपालिकाले परीक्षा सञ्चालनमा कडाइ गर्दै छिमेकी विद्यालयका शिक्षकलाई परीक्षामा खटाएको थियो । उत्तरपुस्तिका पनि नगरपालिकाकै निगरानीमा परीक्षण गरिएको थियो ।
यसले अघिल्ला वर्षहरूमा देखाइँदै आएको ‘कागजी उत्कृष्टता’लाई चिर्दै वास्तविक अवस्था उजागर गरिदिएको छ । नतिजा सार्वजनिक भएसँगै धेरै नाम चलेका विद्यालय र अनुभवी प्रधानाध्यापकसमेत प्रश्नको घेरामा परेका छन् ।
सामुदायिक विद्यालयहरूको अवस्था अझै कमजोर देखिएको छ । केही विद्यालयमा त अत्यन्तै न्यून संख्यामा विद्यार्थी उत्तीर्ण भएका छन् भने कतिपयमा शून्य नतिजा आएको छ ।
जनप्रिय माध्यमिक विद्यालयमा ६८ जना परीक्षार्थीमध्ये १६ जना मात्र उत्तीर्ण भएका छन् । त्रिभुवन माध्यमिक विद्यालयमा ६२ मध्ये ६ जना मात्र पास भएका छन् । लक्ष्मी आधारभूत विद्यालय, दौलतपुरमा १९ जना र भगवती माध्यमिक विद्यालयमा १६ जनामध्ये एक जना उत्तीर्ण हुन सकेनन् ।
जनता माध्यमिक विद्यालय आमतोला र आमगाछी दुवैमा २५–२५ जना विद्यार्थीमध्ये १–१ जना मात्र उत्तीर्ण हुनु अत्यन्तै चिन्ताजनक देखिन्छ । आदर्श माध्यमिक विद्यालय, शुक्रबारेमा ६१ जनामध्ये १ जना विद्यार्थी पास भएका छन् । पब्लिक माध्यमिक विद्यालयमा ९० जनामध्ये १० जना मात्र उत्तीर्ण भएका छन् ।
तर, केही सामुदायिक विद्यालयहरूले तुलनात्मक रूपमा राम्रो प्रदर्शन पनि गरेका छन् । महालक्ष्मी माध्यमिक विद्यालय, दर्वेशमा ३७ मध्ये ३६ जना उत्तीर्ण भएका छन् भने पार्वती माध्यमिक विद्यालय, फर्सडाँगीमा २८ मध्ये २३ जना पास भएका छन् । गणेश माध्यमिक विद्यालय, चोप्राहमा ६६ मध्ये ४१ जना उत्तीर्ण भएका छन् ।
संस्थागत (निजी) विद्यालयहरूको नतिजा भने तुलनात्मक रूपमा सन्तोषजनक देखिएको छ । सनरे इङ्लिस बोर्डिङ स्कुल, ज्ञान ज्योति इङ्लिस बोर्डिङ स्कुल, माउन्ट मकालु बोर्डिङ स्कुल र दिव्य ज्योति बोर्डिङ स्कुलले शतप्रतिशत नतिजा हासिल गरेका छन् । मिलिल्यान्ड बोर्डिङ स्कुलमा ७४ मध्ये ६४ जना उत्तीर्ण भएका छन् भने भानु मेमोरियल बोर्डिङ स्कुलमा ६१ मध्ये ३० जना पास भएका छन् ।
नतिजा कमजोर हुनुको कारणबारे विभिन्न पक्षबाट फरकफरक धारणा सार्वजनिक भएका छन् । पब्लिक माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्विन साहले विद्यालयले आफ्नो तर्फबाट पर्याप्त मेहनत गरे पनि विद्यार्थी र अभिभावकको लापरबाहीका कारण नतिजा कमजोर आएको दाबी गरे ।
उनका अनुसार धेरै विद्यार्थीले गृहकार्य नगर्ने, नियमित रूपमा विद्यालय नआउने र पढाइभन्दा घरायसी काममा बढी समय बिताउने गरेका छन् । उनले अभिभावकहरूलाई विद्यालयसँग सहकार्य गर्न बारम्बार आग्रह गर्दा पनि चासो नदिएको गुनासो गरे ।
तर, स्थानीय अभिभावकहरू भने विद्यालय र शिक्षककै कमजोरीलाई मुख्य कारण ठान्छन् । रंगेली–४, आमतोलाका आनन्दी साहका अनुसार धेरै शिक्षकले कक्षामा प्रभावकारी रूपमा पढाउँदैनन् । विद्यालय समयमा व्यक्तिगत काममा व्यस्त हुने र मोबाइल प्रयोगमा समय बिताउने गरेको उनको गुनासो छ ।
उनले शिक्षकहरू आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने तर सामुदायिक विद्यालयमा गरिब परिवारका बालबालिकाप्रति पर्याप्त जिम्मेवारी नलिने आरोप लगाए । साहले विद्यालय सुधारका लागि आफूहरू लागिपरेको पनि बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले भने नतिजा अपेक्षाभन्दा कमजोर आउनु चिन्ताजनक रहेको स्वीकार गरेका छन् । उनले नगरपालिकाले विद्यालयहरूलाई आवश्यक शिक्षक र शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको भए पनि यस्तो नतिजा आउनुले समग्र प्रणालीमै समस्या देखिएको बताए ।
कक्षा ८ को नतिजाले रंगेलीको शैक्षिक प्रणालीमा गहिरो संरचनागत समस्या रहेको स्पष्ट देखाएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र स्थानीय सरकारबीच समन्वयको अभाव, उत्तरदायित्वहीनता र कमजोर अनुगमन प्रणालीका कारण सामुदायिक विद्यालयहरू क्रमशः कमजोर बन्दै गएको सरोकारवाला बताउँछन् ।
उनीहरुका अनुसार विगतमा कृत्रिम रूपमा राम्रो देखाइने नतिजाले वास्तविक समस्यालाई ढाक्दै आएको भए पनि यस वर्षको नतिजाले सबै पक्षलाई झस्काएको छ । अब सुधारका लागि ठोस कदम चालिएन भने सामुदायिक विद्यालयप्रति जनविश्वास अझै कमजोर हुँदै जाने र निजी विद्यालयतर्फ झुकाव तीव्र हुने निश्चित रहेको उनीहरुको भनाइ छ । ‘सामुदायिक विद्यालयको अवस्था दयनीय र संस्थागतको मात्रै सन्तोषजनक हुनु कदापि ठीक हैन,’ उनीहरु भन्छन् ।

























