
विराटनगर । विराटनगरको अर्किड कलेजले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एक भव्य समारोहबीच बिदाइ गरेको छ । कलेजले सोमबार आफ्नो १७ औँ ब्याचका ८५० विद्यार्थीहरूलाई सुखद भविष्यको कामना गर्दै बिदाइ गरेको हो ।
बिदाइ हुनेहरूमा विज्ञान संकायका २५० र व्यवस्थापन (म्यानेजमेन्ट) संकायका ६०० विद्यार्थी रहेका छन् । कलेजमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई मायाको चिनोसहित बिदाइ गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रिन्सिपल मनिष भट्टराईले विद्यार्थीहरूलाई कडा मिहिनेत र लगनशीलता नै सफलताको मुख्य कडी भएको बताए । उनले भने, ‘मिहिनेतले नै मानिसलाई सफलताको शिखरमा पुर्याउँछ । अर्किड कलेजले सधैँ गुणस्तरीय र संस्कारयुक्त शिक्षामा जोड दिँदै आएको छ । यहाँ सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै अघि बढ्न म सबैलाई आग्रह गर्दछु ।’
प्रिन्सिपल भट्टराईले बिदाइ भएर जाने विद्यार्थीहरूको आगामी शैक्षिक यात्राको पूर्ण सफलताको शुभकामना समेत व्यक्त गरे ।
त्यस्तै, कार्यक्रममा कलेजका अध्यक्ष अमित ढकाल र पूर्वप्रिन्सिपल दीपेश बास्तोलाले विद्यार्थीहरूलाई प्रेरणादायी मन्तव्य दिएका थिए । उनीहरूले जीवनमा आउने जुनसुकै चुनौतीहरूको सामना गर्न सक्ने क्षमता विकास गर्न र राष्ट्र निर्माणमा योगदान पुर्याउने नागरिक बन्न विद्यार्थीहरूलाई प्रोत्साहित गरे ।
बिदाइ भई जान लागेका विद्यार्थीका तर्फबाट बोल्दै सरोज पौडेलले कलेजमा बिताएका दुई वर्ष निकै फलदायी र स्मरणीय रहेको बताए । उनले कलेजमा सिकेको अनुशासन र ज्ञानले आगामी दिनमा सही मार्ग निर्देशन गर्ने विश्वास व्यक्त गरे ।
औपचारिक कार्यक्रमपछि विद्यार्थीहरूले विभिन्न गीत, संगीत तथा आकर्षक नृत्यहरू प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको प्रतिभा र कलाले कार्यक्रमलाई थप उल्लासमय र रोचक बनाएको थियो । शिक्षक, कर्मचारी र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम भावुक र उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो ।



















