
पाँचथर । पाँचथरमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजाले जिल्लाको शैक्षिक अवस्था मिश्रित देखाएको छ । केही विद्यालयले उत्कृष्ट नतिजा निकाल्दा छ वटा विद्यालय भने पूर्ण रूपमा असफल भएका छन् ।
ती विद्यालयबाट परीक्षामा सहभागी भएका एक जना पनि विद्यार्थी ‘ग्रेडेड’ हुन सकेनन् । सबै विद्यार्थी अनुत्तीर्ण भएका हुन् । जिल्लाका पाँच सामुदायिक र एक संस्थागत विद्यालयको नतिजा शून्य आएको छ ।
फिदिम नगरपालिका–२ स्थित कालिका माध्यमिक विद्यालय साम्दिनबाट परीक्षामा सहभागी आठै जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । यो विद्यालयले गत वर्ष पनि कुनै विद्यार्थी उत्तीर्ण गराउन सकेको थिएन ।
फाल्गुनन्द गाउँपालिका–३ को सारताप मनरत्न माध्यमिक विद्यालयबाट सहभागी २६ जना विद्यार्थीमध्ये एक जना पनि ग्रेडेड हुन सकेनन् । यस्तै, मिक्लाजुङ गाउँपालिकाका खान्द्रोङ मावि, चन्द्रोदय मावि र माउण्ट कञ्चन बोर्डिङ स्कुलले पनि शून्य नतिजा निकालेका छन् ।
खान्द्रोङ माविबाट सहभागी छ जना, चन्द्रोदय माविबाट १० जना र माउण्ट कञ्चन बोर्डिङबाट सहभागी १० जना विद्यार्थी सबै अनुत्तीर्ण भएका हुन् । फालेलुङ गाउँपालिका–३ को सरस्वती मावि ताङलेपाबाट पनि कुनै विद्यार्थी उत्तीर्ण भएनन् । उक्त विद्यालयबाट चार जना विद्यार्थी एसइईमा सहभागी भएका थिए ।
शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका अनुसार जिल्लाभर नियमिततर्फ दुई हजार ९९ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा एक हजार ३४ जना मात्रै ग्रेडेड भएका छन् । यो कुल सहभागीको करिब ४९ प्रतिशत हो । प्राविधिक धारतर्फ भने एक सय २२ जना सहभागीमध्ये ६२ जना ग्रेडेड भएका छन् । जिल्लाबाट दुई जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् ।
स्थानीय तहगत रूपमा हेर्दा तुम्बेवा गाउँपालिकाले सबैभन्दा राम्रो नतिजा निकालेको छ । त्यहाँका छ विद्यालयबाट सहभागी एक सय ५४ जना विद्यार्थीतर्फ ८६ जना ग्रेडेड भएका छन् । जुन ६२ प्रतिशत हो । इन्द्रावती माविले २८ मध्ये २६ जना विद्यार्थी उत्तीर्ण गराएर उत्कृष्ट नतिजा दिएको छ ।
मिक्लाजुङ गाउँपालिकाले पनि समग्रमा ६० प्रतिशत नतिजा निकालेको छ । त्यहाँका १४ विद्यालयबाट सहभागी एक सय ९९ जना विद्यार्थीतर्फ एक सय २० जना ग्रेडेड भएका छन् । सिंहदेवी माविबाट परीक्षामा सहभागी पाँचै जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
हिलिहाङ गाउँपालिकामा ११ विद्यालयबाट सहभागी दुई सय ४८ जना विद्यार्थीतर्फ एक सय ३४ जना ग्रेडेड भएका छन् । नीलगिरि माविले १७ मध्ये १६ जना विद्यार्थी उत्तीर्ण गराएर उत्कृष्ट प्रदर्शन गरेको छ ।
फिदिम नगरपालिकाका २० सामुदायिक विद्यालयबाट सहभागी छ सय विद्यार्थीमध्ये दुई सय ६९ जना मात्रै ग्रेडेड भएका छन् । सरस्वती मावि चोकमागूबाट सहभागी ४१ जना विद्यार्थीतर्फ एक जना मात्रै उत्तीर्ण भएका छन् भने रानीटार माविले २८ मध्ये २६ जना विद्यार्थी उत्तीर्ण गराएको छ ।
फिदिमका पाँच संस्थागत विद्यालयको नतिजा भने तुलनात्मक रूपमा राम्रो देखिएको छ । एक सय २९ जना सहभागीमध्ये एक सय छ जना उत्तीर्ण भएका छन् । ब्लुमिङ फ्लावर्स इङ्ग्लिस स्कुलबाट सहभागी सबै नौ जना विद्यार्थी ग्रेडेड भएका छन् ।
फाल्गुनन्द गाउँपालिकाका १३ विद्यालयबाट सहभागी तीन सय चार जना विद्यार्थीतर्फ एक सय ७१ जना ग्रेडेड भएका छन् । सिद्धदेवी मावि नवमीडाँडाबाट सहभागी ३२ मध्ये २९ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने सिद्धेश्वरी माविबाट सहभागी चारै जना विद्यार्थी ग्रेडेड भएका छन् । पाथीभरा इङ्ग्लिस बोर्डिङ स्कुलबाट सहभागी सबै १६ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
याङवरक गाउँपालिका भने जिल्लामै सबैभन्दा कमजोर देखिएको छ । सात विद्यालयबाट सहभागी दुई सय ४३ जना विद्यार्थीतर्फ ६५ जना मात्रै ग्रेडेड भएका छन् । यो २६ प्रतिशत मात्र हो ।
फालेलुङ गाउँपालिकामा १३ विद्यालयबाट सहभागी एक सय ५४ जना विद्यार्थीतर्फ ७८ जना ग्रेडेड भएका छन् । त्यहाँका केही विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी मात्रै परीक्षामा सहभागी भएका थिए । सरस्वती मावि खुङ्गाले भने १५ मध्ये १४ जना विद्यार्थी उत्तीर्ण गराएर राम्रो नतिजा निकालेको छ ।



















