‘चुनावी सेरोफेरो’ लघुकथा संग्रहमाथि बहस 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ९, शनिबार १८:१४
 ‘चुनावी सेरोफेरो’ लघुकथा संग्रहमाथि बहस 

विराटनगर । समकालीन राजनीति, चुनावी संस्कार र सामाजिक यथार्थलाई केन्द्रमा राखेर लेखिएको साहित्यकार महेन्द्र न्यौपानेको लघुकथाको संग्रह ‘चुनावी सेरोफेरो’ माथि विराटनगरमा सशक्त साहित्यिक विमर्श सम्पन्न भएको छ ।

नेपाली लेखक संघ कोशी प्रदेश समितिको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्य, राजनीति र समाजबीचको अन्तर सम्बन्धलाई गम्भीर रूपमा केलाउँदै वक्ताहरूले संग्रहलाई वर्तमान चुनावी संस्कृतिको यथार्थ चित्रण गर्ने प्रभावशाली कृति भएको बताएका छन् ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार तथा पत्रकार गिरिराज आचार्यले नेपाली समाजमा चुनाव केन्द्रित प्रवृत्ति, राजनीतिक स्वार्थ र नागरिक चेतनाको अवस्थालाई लघुकथामार्फत सशक्त रूपमा उठान गरिएको टिप्पणी गरे । उनले साहित्य केवल मनोरञ्जन नभई समाजलाई दिशा बोध गराउने माध्यम भएको उल्लेख गर्दै यस्ता कृतिले लोकतान्त्रिक संस्कृतिको विकृत पक्ष उजागर गर्ने बताए ।

संघका प्रदेश अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संग्रहमाथि समालोचनात्मक टिप्पणी गर्दै साहित्यकार कृष्ण अधिकारीले ‘चुनावी सेरोफेरो’ ले चुनावका बेला देखिने आश्वासन, अवसरवाद, सत्ता–मानसिकता र जनअपेक्षाबीचको द्वन्द्वलाई तीक्ष्ण शैलीमा प्रस्तुत गरेको धारणा राखे ।

उनकाअनुसार संग्रहका लघु कथाहरू छोटा भए पनि तिनले बोकेको राजनीतिक सन्देश, व्यङ्ग्य चेतना र सामाजिक यथार्थ गहिरो रहेको छ । ‘लोकतन्त्रको नाममा विकसित हुँदै गएको विकृति र आम नागरिकको निराशालाई लेखकले सरल तर प्रभावकारी भाषामा उतारेका छन्,’ उनले भने ।

कार्यक्रममा कविराज न्यौपाने, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, साहित्यकार विश्वराज अधिकारी, कृष्ण पोखरेल तथा बलराम पोखरेललगायतले संग्रहको संरचना, भाषा शैली, व्यङ्ग्य चेतना र समसामयिक सान्दर्भिकताबारे विश्लेषणात्मक धारणा प्रस्तुत गरेका थिए ।

वक्ताहरूले नेपाली राजनीतिमा चुनाव केन्द्रित अस्वस्थ प्रतिस्पर्धा, मूल्यहीनता र जनअपेक्षामाथिको खेललाई साहित्यले प्रभावकारी रूपमा दस्तावेजीकरण गर्न थालेको उल्लेख गर्दै ‘चुनावी सेरोफेरो’ त्यसैको प्रतिनिधि कृतिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा लेखक महेन्द्र न्यौपानेले आफूले समाजमा देखिएका राजनीतिक व्यवहार, चुनावी संस्कार र आम नागरिकका अनुभूतिलाई लघु कथामार्फत अभिव्यक्त गर्ने प्रयास गरेको बताए । उनले साहित्य समाजको ऐना भएकाले समयका विकृति र विसंगतिमाथि निरन्तर लेखी रहनुपर्ने धारणा राखे ।

तपाइको प्रतिक्रिया
संखुवासभाको मकालुमा पहिरो : २०० भेडा पहिरोमा पुरिए
अमेरिका–इरान थप टकरावको जोखिम बढ्दै, खाडी र युरोपेली शक्ति कूटनीतिक दौडमा
२७ देशद्वारा आपतकालीन आर्थिक सहयोग माग
मिल्स गोल्डकपः झापालाई हराउँदै उदयपुर सेमिफाइनलमा 
मिल्स गोल्डकपः झापालाई हराउँदै उदयपुर सेमिफाइनलमा 
ओली नेतृत्वमै समस्या समाधानको पक्षमा एमाले सचिवालय
सचिवालयमा एक्लिए ओली, तर, नेतृत्व नछाड्ने अडान
अलकत्राको भाउ बढ्दा राेकियाे महेन्द्र राजमार्गकाे कालोपत्र
वीरेन्द्र साहलाई केन्द्रीय सहकारी विभाग सदस्यको जिम्मेवारी
मोरङमा पहेँलो धातुको टिल देखाएर लुटपाट गर्ने गिरोह फेरि सक्रिय, पुरानै अभियुक्त पक्राउ
नेपाली कांग्रेस लाैकही भेलाकाे २८ बुँदे संकल्प (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.